
समाचार कुञ्ज कावासोती, नवलपुर । रोट्र्याक्ट डिष्ट्रिक्ट ३२९२ अन्तर्गत आयोजना हुँदै आएको १२औं लेट. आरटीआर सचिन मेमोरियल राष्ट्रव्यापी रक्तदान कार्यक्रम यस वर्ष पनि कावासोतीमा आयोजना हुने भएको छ । उक्त कार्यक्रम रोट्र्याक क्लब अफ कावासोती र रोट्र्याक क्लब अफ नवलपुर सिटीको संयुक्त आयोजनामा नवलपुरको कावासोतीस्थित मध्यबिन्दु बहुमुखी क्याम्पस परिसरमा मंसिर १४ गते, आइतबार, बिहान ०७:३० बजेदेखि हुने छ । उक्त कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी कावासोती उप – शाखा, नवलपुरका विद्यार्थी केन्द्रित मध्यबिन्दु बहुमुखी क्याम्पस, तथा सामाजिक अभियन्ता समूह सरल नेपाल नवलपुरले सक्रिय रूपमा सहयोग प्रदान गर्ने छन् । स्वास्थ्य सेवा, रगत व्यवस्थापन र जनचेतनालाई बलियो बनाउने उद्देश्यसहित आयोजना गरिने यो अभियान स्थानीय युवाहरुको पहल र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ ।
रक्तदान कार्यक्रममार्फत समुदायमा सुरक्षित र स्वेच्छिक रक्तदानको संस्कारलाई मजबुत बनाउने, आकस्मिक अवस्थामा रगत अभाव नहोस् भन्ने उद्देश्यका साथै दिवंगत आरटीआर सचिनको स्मृतिलाई सम्मान गर्ने लक्ष्य लिइएको आयोजक क्लबले जनाएको छ । उक्त रक्तदान कार्यक्रम सबैका लागि खुला रहेको र स्वास्थ्य मापदण्डअनुरूप व्यवस्थित व्यवस्थापन गरिने क्लबका पदाधिकारीहरूले जानकारी दिएका छन् । आयोजक पक्षका अनुसार, कार्यक्रममा उत्साहपूर्वक सहभागी भई ‘ रक्तदान, जीवनदान ’ अभियानलाई सफल बनाउन सबै स्वयंसेवीहरु, युवाहरु, समाजसेवीहरु तथा सम्पूर्ण महानुभावहरुलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस