आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

भिमाद नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न


  • समाचार कुञ्ज
  • २०८२ मंसिर २६, शुक्रबार मा प्रकाशित ५ महिना अघि
  • २६ पाठक संख्या
  • भिमाद
    आर्थिक, सामाजिक विकास र दिगो पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै आएको भीमाद नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक समीक्षा तथा सेवा प्रवाहसम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। नगरप्रमुख दधिराज सुवेदीको अध्यक्षतामा बसेको उक्त कार्यक्रममा स्थानीयबासीको उल्लेखनीय उपस्थिति रह्यो।

    कार्यक्रमको प्रारम्भमा उपप्रमुख शारदा खनालले स्वागत मन्तव्य राख्दै सार्वजनिक सुनुवाई जनताको आवाज सुन्ने र पालिकाको कामकारबाहीबारे स्पष्ट जानकारी दिने प्रभावकारी माध्यम भएको बताइन्। “जनतासँग प्रत्यक्ष संवाद हुने भएकाले कार्यक्रम फलदायी हुन्छ,” उनले भनिन्।

    जनताको गुनासा, प्रश्न–जिज्ञासा

    सुनुवाईका क्रममा स्थानीयवासीले सुशासन, खेलकुद, बसपार्क व्यवस्थापन, फोहर व्यवस्थापन, स्वास्थ्य पूर्वाधार निर्माण, निजी विद्यालयको मनपरी संचालन, सडक बत्ती मर्मत, कर्मचारी व्यवहार तथा सवारी साधन दुरुपयोगजस्ता विषयमा नगरपालिकाको ध्यानाकर्षण गराए।

    उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उपलब्धि नल्याउनुको कारण माग्दै खेल क्षेत्रमा पालिकाको ध्यान कम भएको आरोप पनि लगाए। सडकको मनपरी पार्किङ, अस्पताल निर्माण ढिलो हुनु र नगरपालिकाले समयमै प्रभावकारी निगरानी नगरेको विषयमा पनि प्रश्न उठाइए।

    नगरपालिकाका कामकारबाही सार्वजनिक

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुनले प्रथम चौमासिकमा सम्पन्न कामहरूको विस्तृत प्रस्तुति रिपोर्ट प्रस्तुत गरे। उनले भीमाद नगरपालिका वित्तीय सुशासन जोखिम मूल्यांकन (FRA) मा जिल्लाकै उत्कृष्ट पालिका घोषित भएको जानकारी दिए।

    उनका अनुसार पालिकाले कृषि औजार वितरण, दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न प्रतिलिटर १० रुपैयाँ अनुदान, किसानमैत्री विभिन्न कार्यक्रम लागू गरेको छ।

    नगरप्रमुख सुवेदीको स्पष्टीकरण र योजनाहरू

    नगरप्रमुख दधिराज सुवेदीले कृषि तथा पशुपालनमा विशेष जोड दिइएको बताउँदै साइलोज व्यवस्थापन, भैसी पाडी सहयोग, मौरीपालन प्रवर्द्धन, सुन्तला तथा अकबरे खुर्सानी पकेट क्षेत्र घोषणा, पर्यटन प्रवर्द्धन, कृषि क्षेत्र वर्गीकरण जस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।

    उनका अनुसार आलु पकेट क्षेत्र विस्तारका लागि बिउमा अनुदान, उन्नत बिउ–विजन वितरण, फलफूल तथा तरकारी उत्पादन वृद्धिमा केन्द्रित योजनाहरू अघि बढाइएका छन्।
    त्यस्तै, स्वास्थ्य जनचेतना कार्यक्रम, शिक्षक तालिम, शवदह निर्माण लगायतका सामाजिक क्षेत्रका काम पनि सञ्चालन भइरहेको उनले बताए।

    भौतिक संरचना क्षेत्रमा—

    भिमाद–१ डुम्रेवेशी पुल,

    वडा २ वडुवा खोला पुल,

    लोकतानित्रक मोटरमार्ग कालोपत्रे,

    भिमगुफा मोटरमार्ग स्तरउन्नति,

    ओन्टाङ खोला पुल निर्माण,

    श्रङ्पथ क्षेत्रमा वडुवा खोलामा पुल निर्माणाधीन

    लगायतका योजनाहरू अघि बढाइएका छन्।

    नगरप्रमुख सुवेदीले संघीय र प्रदेश तहका योजनामा स्थानीय तहले प्रत्यक्षरूपमा हस्तक्षेप गर्न नसक्ने भएकाले केही योजनामा ढिलाइ भएको बताए। “ठेकेदार कम्पनीले समयमा काम नगर्दा परिणाम देखिन नसके पनि नगरपालिकाले आवश्यक निगरानी र दवाव दिइरहेको छ,” उनले स्पष्ट पारे।

    वडाध्यक्षहरूका प्रतिक्रिया

    सुनुवाई कार्यक्रममा वडा नं १ का अध्यक्ष दिपक आले, वडा २ का दिनेश कुमार थापा, वडा ४ का रामकृष्ण राना, वडा ६ का श्यामसुन्दर जोशी, र वडा ९ का रनबहादुर थापाले सहभागीहरूले उठाएका सवालहरूको जवाफ दिए।

    अन्य सहभागीहरुको अभिमत

    कार्यक्रममा वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्र सेनानी विश्ववन्धु भण्डारी, पालिकाका उपसचिव सन्दिप पौडेल, राप्रपा भिमादका अध्यक्ष ध्रुव राज सुवेदी, जनज्योति क्याम्पसका प्रमुख केशवराज काफ्ले लगायतले आफ्ना धारणा प्रस्तुत गरेका थिए।

    कार्यक्रम संयोजन

    टोल विकास संस्थाका अध्यक्ष, आमा समूह, क्लबका प्रतिनिधि, अगुवा किसान तथा स्थानीयवासीहरूको सहभागिता रहेको कार्यक्रमको संयोजन देवघाट मल्टिमिडिया प्रा.लि. ले गरेको थियो भने सञ्चालन प्रेम प्रसाद पौडेलले गरेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट