
समाचार कुञ्ज घिरिङ गाउँपालिकामा प्रजनन स्वास्थ्य सम्बन्धि बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुक्लागन्डकी नगरपालिकाको बेलचौतारा स्थित जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आयोजना र घिरिङ गाउँपालिकाको सहयोगमा वडा नम्बर १ स्थित अत्रौली आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सोमबार महिलाहरुको प्रजनन् स्वास्थ्य समस्यालाई मध्यनजर गरी बृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।उक्त शिविरमा महिलाहरूको प्रजनन स्वास्थ्य समस्या सम्बन्धी सचेतनाको कार्यक्रमका साथै ३० देखि ६० वर्षका महिलाहरूमा पाठेघरको मुखको क्यान्सरको अग्रिम पहिचान तथा रोकथामका लागि भिजुअल इन्स्पेक्सन विथ एसिटिक एसिड विधिको प्रयोग गरी जाँच, थर्माेएब्लेशन प्रविधिको प्रयोग गरी उपचार, अन्य परामर्श तथा उपचार गरिएको थियो ।
शिविरमा महिलाहरूका प्रजनन समस्याहरू जस्तै सेतो, मैलो, गन्ध आउने पानी आउने, योनी चिलाउने, योनीमा घाउ खटिरा आउने, तल्लो पेट, ढाड वा कम्मर दुख्ने, महिनावारीमा गडबडी, आङ खस्ने समस्या, योनीबाट दिशा–पिसाब चुहिने समस्या, पिसाब रोक्न नसक्ने वा चुहिने समस्या आदिको जाँच गरी, रोग पत्ता लगाई आवश्यक उपचार, परामर्श तथा प्रेषणको व्यवस्था समेत भएको घिरिङ गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख कृष्णप्रसाद रिमालले बताए । त्यसैगरि उक्त अवसरमा किशोरीहरूको प्रजनन स्वास्थ्य समस्या पहिचान, परामर्श र उपचार गर्भवती तथा सुत्केरी जाँच समेत गरिएको थियो ।
शिविरमा स्त्री तथा प्रसुती रोग विशेषज्ञद्वय डा.सुदिप गुरुङ र सुनिता सिलवाल तथा बरिष्ठ नर्सिङ अधिकृतहरु शान्ति खड्का र कविता पौडेल तथा नर्सिङ अधिकृत तारा पौडल लगायत १२ जना स्वास्थ्यकर्मीले स्वास्थ्य परिक्षण गरेका थिए । उक्त शिविरमा १८० जना महिलाले स्वास्थ्य परिक्षणको सेवा लिएका थिए ।
जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका सन्चालक सदस्य त्रिलोचन लम्सालको अध्यक्षतामा भएको उक्त शिविरको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहदादुर थापाले उद्घाटन गरेका थिए । उक्त अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष थापाले गाउँपालिकाले विभिन्न समय र स्थानमा नागरिकको आवश्यकता अनुसारको स्वास्थ्य शिविर गर्दै आएको बताए । नागरिकको स्वास्थ्यको सुधार गर्न गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने भन्दै अध्यक्ष थापाले फेरी पनि आवश्यकता अनुसार स्वास्थ्य शिविर सम्बन्धि कार्यक्रम गर्दै जाने बताए । पालिकाले धेरै खर्च र समन्वय गरेर गाउँमा नै स्वास्थ्य शिविर ल्याउँदा धेरै भन्दा धेरै नागरिकहरुले सेवा लिनुपर्ने अध्यक्ष थापाको भनाई थियो ।
सो कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारी, नेकपा एमालेका विष्णुभक्त सिग्देल, नेपाली काँग्रेसका पशुपती पोख्रेल, वडा नम्बर १ का अध्यक्ष रविचन्द्र घोरासिनी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्त्व्य बरिष्ठ नर्सिङ अधिकृत कविता पौडेलले तथा कार्यक्रमको सन्चालन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस