
समाचार कुञ्ज काठमाडौं । विगत ६ वर्षसम्म गीत / संगीतमै भविष्य खोजेका गायक तथा सर्जक सन्तोष खत्रीले अन्ततः त्यो सपना अधुरै छाड्दै संगीत यात्राबाट बिदा लिने निर्णय गरेका छन् । २० वटा भन्दा बढी गीत सिर्जना गर्दा पनि अपेक्षित सफलता नपाएपछि खत्रीले हार स्वीकार्दै अब संगीतबाट टाढा हुने घोषणा गरेका हुन् । सानै उमेरदेखि गीतप्रति गहिरो प्रेम राख्ने खत्री अरूको स्वर सुन्दा सधैं सोच्थे-‘एकदिन म पनि यस्तै गीत गाउने छु ।’ त्यहीँ सपनाले खत्रीलाई गीत लेख्न सिकायो, स्वरमा आत्मा हाल्न सिकायो र अन्ततः संगीतको बाटोमा लाग्यो ।
खत्रीको औपचारिक यात्रा ‘ दिनमै नशा ’ बोलको गीतबाट शुरु भयो । पहिलो गीत सार्वजनिक हुँदा खत्रीलाई लागेको थियो- अब उनको समय शुरु हुँदै छ, तर समयले खत्रीलाई चाहेजस्तो अवसर दिएन । न ठूलो लगानी, न चर्चित अनुहारको साथ, थियो त केवल परिवारको हौसला र आफ्नै भरोसा । त्यहीँ भरोसामा खत्रीले ‘ १५ हजार ’, ‘ अब क्यार्नी हो ’, ‘ मायालुका यादैले डाँडै काटे छ’, ‘ ए आमा ’, ‘ पोखरा फेवातालैमा ’, ‘ दुई मुठी सास ’, ‘ म दुःखी प्रदेशी ’, ‘ घरको धुरीमा ’, ‘ मुना मदन जस्तै ’, ‘ पैसा ’, ‘ हाम्रो कालापानी ’, ‘ हतार भो पिरिम लाउन ’, ‘ झ्याई झ्याई पार्नी हो ’ लगायत २० वटा भन्दा बढी गीत श्रोताहरुमाझ ल्याए, तर आज उनी आफैँ स्वीकार्छन्- उनका गीतहरूले दर्शक तथा श्रोताहरुको मन जित्न सकेनन् । ‘मिहिनेत कम गरेको होइन’, खत्रीले भन्छन्,‘तर सफल कलाकार बन्न सकिनँ । सायद भाग्यले मेरो स्वर सुन्न चाहेन ।’
खत्रीका अनुसार यो निर्णय क्रोधको होइन, थकानको परिणाम हो । खत्रीले भने,‘म धेरै लडेँ, अब थाकिसकेको छु । हार मानेर होइन, शान्त भएर बिदा लिन चाहन्छु, तर संगीतसँगको सम्बन्ध अझै एकपटक बोल्ने छ ।’ संगीतबाट पूर्ण रूपमा टाढा हुनु अघि खत्रीले एउटा अन्तिम भजन सार्वजनिक गर्ने बताएका छन् । खत्रीका अनुसार त्यो भजन खत्रीको ६ वर्षे संघर्षको अन्तिम आवाज हुने छ । आज खत्रीको स्वर मौन हुँदै छ, तर कथाले अझै बोलिरहने छ । एक कलाकारको यात्रा यहाँ टुंगिन्छ, तर उसको अधुरो सपना धेरै संघर्षरत कलाकारहरूको आँखामा आफ्नै कथा बनेर बाँचिरहने छ ।

प्रतिक्रिया दिनुहोस