
समाचार कुञ्ज तिर्थराज काफ्ले काठमाडौ
आगामी निर्वाचन नजिकिँदै गर्दा क्षेत्र नं. २ मा कडा र रोचक प्रतिस्पर्धा हुने संकेत देखिएको छ। यद्यपि तीनै प्रमुख दलका उम्मेदवारहरूको औपचारिक टिकट अझै घोषणा भइनसकेको अवस्थामा पनि समुदायस्तरमा भइरहेको राजनीतिक गतिविधि र आन्तरिक आकलनका आधारमा यस क्षेत्रमा त्रिपक्षीय भिडन्त हुने लगभग निश्चित देखिन्छ।
स्थानीय राजनीतिक वृत्तका अनुसार नेकपा (एमाले)बाट तिलक महत, नेपाली कांग्रेसबाट विष्णु कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. पुष्प मणि खराल सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन्। एमालेका महत संगठनमा राम्रो पकड भएका र अनुभवी नेता मानिन्छन् भने कांग्रेसका कार्की लामो समयदेखि स्थानीय राजनीतिमा सक्रिय रहँदै आएका परिचित अनुहार हुन्। पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. खरालको सम्भावित उम्मेदवारीले प्रतिस्पर्धालाई थप चासोपूर्ण बनाएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यसपटक क्षेत्र नं. २ मा परम्परागत दल र नयाँ राजनीतिक शक्तिबीच प्रत्यक्ष टक्कर देखिन सक्नेछ। मतदाताको रुचि, उम्मेदवारको अन्तिम चयन, चुनावी एजेन्डा तथा राष्ट्रिय राजनीतिक माहोलले अन्तिम नतिजा निर्धारण गर्ने अनुमान गरिएको छ।
अब सबैको ध्यान एउटै प्रश्नमा केन्द्रित भएको छ— क्षेत्र नं. २ बाट अन्ततः कसले जित हात पार्ला ? निर्वाचन नजिकिँदै जाँदा यो प्रतिस्पर्धा अझै रोचक बन्दै जाने देखिन्छ।

प्रतिक्रिया दिनुहोस