
समाचार कुञ्ज
तिर्थराज काफ्ले काठमाडौं , असोज २९ — देवचुली नगरपालिकाका प्रशासकीय अधिकृत शिव सापकोटाको म्याग्दीस्थित रघुगंगा गाउँपालिकामा सरुवा भएको छ। नगरपालिकाको आर्थिक विकास शाखा प्रमुखको जिम्मेवारीमा रहेर ६ वर्ष ४ महिना १० दिन सेवा गर्नुभएका सापकोटालाई नगरपालिकाले बिहीबार ‘फेरि भेटौँला’ कार्यक्रम आयोजना गरी बिदाइ गरेको छ।
देवचुली नगरपालिकामा आयोजित बिदाइ कार्यक्रममा नगर प्रमुख हरि प्रसाद न्यौपानेको अध्यक्षता रहेको थियो। कार्यक्रममा नगर उपप्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत विनोद रोका, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको उपस्थिति थियो।
सापकोटाले देवचुली नगरपालिकामा रहँदा आर्थिक विकास शाखा प्रमुखका रूपमा लामो समय जिम्मेवारी निर्वाह गर्नुभएको थियो। उहाँको सरुवासँगै अब उहाँले म्याग्दीको रघुगंगा गाउँपालिकामा रहेर प्रशासनिक सेवा प्रदान गर्नुहुनेछ।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले सापकोटाले नगरपालिकामा बिताउनुभएको सेवा अवधिको स्मरण गर्दै नयाँ कार्यस्थलमा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
नगरपालिकामा ६ वर्षभन्दा बढी समय सेवा गर्नुभएका सापकोटाको बिदाइका अवसरमा आयोजित कार्यक्रम ‘फेरि भेटौँला’ भन्ने भावनासहित सम्पन्न भएको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस