
समाचार कुञ्ज घिरिङ, २१ असोज
तनहुँको घिरिङ गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीको सर्वाङ्गीण विकासका लागि गाउँपालिकास्तरीय बाल सञ्जाल गठन गरिएको छ। विभिन्न विद्यालयका विद्यार्थीको सहभागितामा गठित सञ्जालले बालबालिकाको क्षमता तथा नेतृत्व विकाससँगै शैक्षिक र सामाजिक गतिविधिमा उनीहरूको सहभागिता बढाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ।

गठित बाल सञ्जालको अध्यक्षमा कृष्ण माध्यमिक विद्यालयका रिजन खाँड ठकुरी चयन भएका छन्। उपाध्यक्षमा सरस्वती माध्यमिक विद्यालयकी एलिसा आले र सचिवमा चन्द्रज्योति माध्यमिक विद्यालयकी खिमा माया थापा चयन भएका छन्।
त्यस्तै, सहसचिवमा कामधेनु माध्यमिक विद्यालयकी विहानी श्रेष्ठ चयन भएकी छन्। सदस्यमा राष्ट्रिय माध्यमिक विद्यालयका राजन राना, महेन्द्र ज्योति माध्यमिक विद्यालयकी शुस्मा कुमाल, दिपक माध्यमिक विद्यालयकी आशिका श्रेष्ठ, सरस्वती आधारभूत विद्यालयका युजन ठकुरी र घिरिङ मदरल्यान्ड स्कुलका सुभाष नेपाली चयन भएका छन्।
गाउँपालिकाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई एउटै सञ्जालमा आबद्ध गरी उनीहरूको नेतृत्व क्षमता विकास, शैक्षिक गतिविधिमा सक्रिय सहभागिता तथा सामाजिक गतिविधिमा संलग्नता बढाउने उद्देश्यले सञ्जाल गठन गरिएको हो।

बाल सञ्जालले बालबालिकाका विषयसँग सम्बन्धित गतिविधिमा विद्यार्थीको सहभागिता बढाउनुका साथै आफ्ना क्षमता र प्रतिभा प्रस्तुत गर्ने अवसरसमेत सिर्जना गर्ने अपेक्षा गरिएको छ।
बाल सञ्जाल गठन कार्यक्रममा घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापा, उपाध्यक्ष राधा देवी अधिकारी, शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद सुवेदी, सहायक शिक्षा अधिकृत पुष्पा थापासहित शिक्षक तथा विद्यार्थीको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस