आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

नवलपुर र तनहुँ जोड्ने गडगडीघाट पुल नौ वर्षदेखि अधुरो


  • समाचार कुञ्ज
  • २०८२ चैत्र १७, मंगलबार मा प्रकाशित २ हफ्ता अघि
  • ५५ पाठक संख्या
  • नवलपुर ।तनहुँ र नवलपुरको दुई पालिका जोड्ने गडगडीघाट पुल नौ वर्षदेखि अधुरो रहेको छ। ऋषिङ गाउँपालिका र नवलपुरको बुलिङटार गाउँपालिका जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन मोटर गुड्ने पुल ठेकेदारको चरम लापरबाहीका कारण अलपत्र परेको हो।

    २६ करोड ८२ लाख रुपियाँको लागतमा बन्न लागेको २२० मिटर लामो यो पुल निर्माणमा ढिलाइ भएपछि स्थानीय बासिन्दाले सास्ती भोग्न बाध्य छन्।

    तनहुँको ऋषिङ–४, मधुवन र नवलपुरको बुलिङटार–४, कोखेटार जोड्ने यस पुलको निर्माणका लागि २०७३ असार २९ गते लुम्बिनी बिल्डर्स–नागार्जुन–स्वच्छन्द जेभीसँग सम्झौता भएको थियो। सम्झौता अनुसार २०७७ वैशाख २८ गतेभित्र सम्पन्न हुनुपर्ने पुल निर्माण पटक–पटक म्याद थप्दा पनि अधुरो रहेको छ। अन्तिम थपिएको म्याद २०८२ चैत ७ गते सकिएको भए पनि भौतिक प्रगति निराशाजनक छ।

    ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले भने, “ठेकेदारले समयमा काम नगर्दा आयोजना अलपत्र परेको छ। बारम्बार ताकेता गरेपछि केही मजदुर परिचालन भएका छन्। आजै पनि पोखरास्थित पुल महाशाखामा पुगेर कामलाई तीव्रता दिन र लापरबाही गर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउन दबाब दिएका छौँ।”

    पुल सेक्टर कार्यालय पोखराका अनुसार जिम्मेवारी पाएका तीनवटै ठेकेदार कम्पनीले कार्यक्षेत्रमा पर्याप्त ध्यान नदिँदा र समन्वय नगर्दा निर्माणमा ढिलाइ भएको हो। पुल निर्माणका लागि ६ वटा पिलर आवश्यक भए पनि हालसम्म ५ वटा मात्र तयार भएका छन् भने एक पिलरको काम अझै बाँकी छ। त्यस्तै, एक स्पान ढलान भए पनि दुई स्पानको काम प्रक्रियामै छ। हिउँदमा केही काम गर्ने र वर्षा लागेपछि काम रोक्ने प्रवृत्तिले गर्दा पुल कहिले पूरा हुन्छ भन्ने अझै स्पष्ट छैन।

    यो पुल निर्माण सम्पन्न भएमा नवलपुरको सदरमुकाम कावासोती र दलदले क्षेत्रबाट तनहुँको भिमाद हुँदै प्रदेश राजधानी पोखरा पुग्ने दूरी करिब १५ किलोमिटर छोटो हुनेछ। नवलपुरलाई प्रदेश राजधानीसँग जोड्ने यो रणनीतिक मार्ग अलपत्र हुँदा यस क्षेत्रको आर्थिक र सामाजिक विकासमा ठुलो धक्का पुगेको छ, ऋषिङ गाउँपालिकाका उपाध्यक्ष चिनुमाया थापाले बताउनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट