
समाचार कुञ्ज रुपन्देही । रुपन्देहीको पर्सास्थित लुम्बिनी बौद्ध विश्वविद्यालयमा चैत २३ देखि २५ गतेसम्म ‘ गहन पुनरुत्थानशील कृषिसम्बन्धी क्षेत्रीय सम्मेलन २०८२ ’ हुँदै छ । लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल जीन बैंक (एनएआरसी), डब्लुडब्लुएन र डब्लुडब्लुएफ नेपालको संयुक्त आयोजनामा तथा रकफेलर फाउन्डेसनको आर्थिक सहयोगमा सम्मेलन आयोजना हुन लागेको हो । सम्मेलनको मुख्य उद्देश्य कृषि प्रणालीमा रूपान्तरणकारी परिवर्तनका विषयमा प्राज्ञिक विमर्श गर्नु रहेको आयोजकले जनाएको छ । उक्त सम्मेलनमा स्वदेशी ज्ञान, कृषि – पर्यावरणीय दृष्टिकोण र पुनरुत्थानात्मक अभ्यासहरूको एकीकरणमार्फत दिगो तथा प्रकृतिमैत्री कृषिप्रणाली विकासका विषयमा विशेष छलफल हुने छ । साथै नेपाल, भारत र भुटानका किसानहरु, अनुसन्धानकर्ताहरु, नीति / निर्माता, शिक्षाविद्हरु, विकास साझेदार तथा निजी क्षेत्रबीच सहकार्य सुदृढ गर्ने लक्ष्य राखिएको छ ।
‘ रिजेनेरेटिङ फ्युचर्सः इण्टिग्रेटिङ एग्रोबायोडाइभर्सिटी, इको – स्पिरिचुअलिटी एण्ड क्लाइमेट – रेजिलियन्ट एग्रिकल्चर ’ शीर्षकको मुख्य मन्तव्य अन्तर्गत ७ वटा विषयमा केन्द्रित छलफल हुने जनाइएको छ । गहन पुनरुत्थानशील कृषि, कृषि जैविक विविधता संरक्षण, पर्वतीय कृषि, उच्च हिमाली क्षेत्रका जलवायु अनुकूल अभ्यास, पर्या – आध्यात्मिक कृषि, खाद्य तथा बजार प्रणाली र नीतिगत प्रावधानका विषयमा विस्तृत संवाद हुने आयोजकले जनाएको छ । आधुनिक कृषि प्रणालीले उत्पादन वृद्धि गरे पनि माटोको क्षय, जैविक विविधताको ह्रास र परम्परागत ज्ञानको क्षरण बढाएको विषयमा सम्मेलनमा गहन बहस हुने अपेक्षा गरिएको छ । गहन पुनरुत्थानशील कृषिले माटो, पानी, हावा र जैविक विविधताको पुनर्स्थापना गर्दै सहनशील कृषि प्रणाली निर्माणमा योगदान पुर्याउनेमा सहभागीहरूले जोड दिनेछन् । उक्त सम्मेलनमा मुख्य मन्तव्य, कार्यपत्र प्रस्तुति, प्यानल छलफल, प्रदर्शनी, पोस्टर प्रस्तुति तथा सांस्कृतिक कार्यक्रमसमेत समावेश गरिने छ । साथै ‘ बुद्ध थाली ’ सहित स्थानीय खाद्य सामग्रीमार्फत सजग भोजनको अभ्यास प्रवर्द्धन गरिने जनाइएको छ ।
यो सम्मेलन रकफेलर फाउन्डेसनको सहयोगमा मुस्ताङ, मनाङ, लुम्बिनी र ललितपुरमा सञ्चालन भइरहेको रेगाग्री परियोजनाको एक हिस्सा रहेको छ । परियोजनाले स्थानीय तथा रैथाने कृषि आनुवंशिक स्रोतहरूको संरक्षण, स्वदेशी ज्ञान प्रवर्द्धन, सामुदायिक जीन बैंक स्थापना तथा परम्परागत बिउ संरक्षणमा काम सम्मेलनमार्फत हिमाली क्षेत्रका आनुवंशिक स्रोतहरूको संरक्षणका लागि ‘ हिमालयन बीज कोष ’ स्थापना गर्ने सम्भावना समेत खोजिने जनाइएको छ । स्थानीय उत्पादन, स्थानीय स्रोत र स्थानीय बजारलाई सुदृढ गर्दै स्वनिर्भर कृषि प्रणाली निर्माणमा जोड दिइने आयोजकको भनाइ छ । उक्त सम्मेलनको समापन गहन पुनरुत्थानशील कृषिसम्बन्धी क्षेत्रीय घोषणा – पत्र अनुमोदन गर्दै हुने छ । घोषणा – पत्रमार्फत स्थानीय जैविक विविधता संरक्षण, सहकार्य अभिवृद्धि, नीतिगत सुधार, कृषि पारिस्थितिक अभ्यास विस्तार तथा स्थानीय उत्पादनका लागि अनुकूल बजार निर्माण गर्ने प्रतिबद्धता जनाइने छ । उक्त सम्मेलनबाट गहन पुनरुत्थानशील कृषिबारे जनचेतना अभिवृद्धि, क्षेत्रीय सहकार्य सुदृढीकरण, नीतिगत सुझाव, अनुसन्धान प्राथमिकता पहिचान तथा प्रकृतिमैत्री कृषि प्रणालीका लागि साझा दृष्टिकोण विकास हुने अपेक्षा गरिएको छ । उक्त सम्मेलनमा नेपाल, भारत र भुटानबाट करिव १ सय २० जना अनुसन्धानकर्ताहरु तथा सरोकारवालाहरूको सहभागिता रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस