
समाचार कुञ्ज तिर्थराज काफले
कावासोती
शिवशक्ति नवदुर्गा अध्यात्मिक प्रतिष्ठान, कावासोती–१५, गोडारको १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रम २०८२ साल चैत २८ गते शनिबार प्रतिष्ठानकै मन्दिर परिसरमा आयोजना गरिएको हो।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वोधराज गैह्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कावासोती नगरपालिका वडा नं. १५ का वडाध्यक्ष तेजकुमार श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा पूर्व तथा वर्तमान समितिका पदाधिकारी, निर्माण, पूजा तथा भान्सा व्यवस्थापन समितिका प्रतिनिधि, चन्दादाता, आजीवन सदस्य, अक्षयकोषदाता, आमा समूह, हरियाली युवा क्लबका प्रतिनिधि, बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा यस्ता संस्थाहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले मन्दिर क्षेत्रको विकास, व्यवस्थापन तथा धार्मिक गतिविधिहरूलाई अझ व्यवस्थित बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै, स्थानीय सरकारका तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्न सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सभामा प्रतिष्ठानका सचिव विमल प्रसाद गैह्रेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षका योजना तथा लक्ष्यहरूबारे जानकारी गराउनुभयो। त्यसैगरी, कोषाध्यक्ष गणेश श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन तथा २०८२ सालमा सम्पन्न श्रीमद् देवी भागवत ज्ञान महायज्ञको आय–व्यय विवरण प्रस्तुत गर्नुभयो, जसलाई सभाले अनुमोदन गरेको छ।
यसै अवसरमा वि.सं. २०६७ देखि २०८१ सम्म मन्दिर व्यवस्थापन समितिमा रही योगदान पुर्याउने संस्थापक तथा विभिन्न पदाधिकारीहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमको सञ्चालन संस्थापक सचिव डिल्लीराम न्यौपानेले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस