आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

भूमिहीनको पक्षमा मध्यविन्दु नगरपालिका, ‘डोजर आतंकबाट नआत्तिन’ नगरप्रमुख अधिकारीको आग्रह


  • समाचार कुञ्ज
  • २०८३ बैशाख २६, शनिबार मा प्रकाशित ३ हफ्ता अघि
  • २६ पाठक संख्या
  • प्रिय धन, नवलपुर, २६ वैशाख २०८३, शनिबार ।

    पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–१० अरुणखोलामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको गुनासो सम्बोधन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै नगरप्रमुख भिमलाल अधिकारीले स्थानीय सरकार सधैं नागरिकको पक्षमा रहेको स्पष्ट पार्दै डोजर आतंकबाट त्रसित नहुन आग्रह गर्नुभएको छ।

    नगरप्रमुख अधिकारीले पछिल्लो समय नेपाल सरकारले सरकारी जग्गा अतिक्रमण गरी बसेका सुकुम्बासी बस्तीहरू हटाउने अभियान सञ्चालन गरिरहेको सन्दर्भ उल्लेख गर्दै, अभियानको उद्देश्य सकारात्मक भए पनि उचित व्यवस्थापन, वैकल्पिक बसोबास र नागरिकका आधारभूत अधिकार सुनिश्चित नगरी कार्यान्वयन गरिनु उचित नहुने बताउनुभयो।

    उहाँले भन्नुभयो, “राज्यले भूमिहीन नागरिकको समस्या समाधान गर्नुपर्छ, थप पीडा दिने काम गर्नु हुँदैन। घरबारविहीन नागरिकलाई वैकल्पिक व्यवस्था नगरी हटाउने कामले सामाजिक समस्या झन् जटिल बनाउँछ।”

    कार्यक्रममा उपस्थित भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आफूहरू वर्षौंदेखि बसोबास गर्दै आएको स्थानबाट विस्थापित हुने चिन्ताले त्रसित रहेको गुनासो राखेका थिए। उनीहरूले आफ्नो बसोबासलाई वैधानिकता प्रदान गरी सुरक्षित जीवनयापनको वातावरण बनाउन सरकारसँग माग गरेका थिए।

    सो अवसरमा नगरप्रमुख अधिकारीले स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले नागरिकका समस्या समाधानमा संवेदनशील भएर काम गरिरहेको बताउनुभयो। भूमिहीन समुदायको अधिकार संरक्षण, सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।

    उहाँले भूमिसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्न संघीय सरकार, सम्बन्धित आयोग तथा सरोकारवाला निकायसँग आवश्यक समन्वय र पहल गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

    शनिबार आयोजित उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, भूमिहीन समुदायका प्रतिनिधि, सामाजिक अगुवा तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले भूमिहीन तथा सुकुम्बासी समुदायको समस्या समाधानका लागि सबै तहका सरकार गम्भीर बन्नुपर्ने धारणा राखेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट