आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

सुकुम्बासीको त्रासबारे मेयर अधिकारीको प्रश्न : “जनतालाई ढुक्कसँग बाँच्ने आधार देऊ”


  • समाचार कुञ्ज
  • २०८३ बैशाख २८, सोमबार मा प्रकाशित ३ हफ्ता अघि
  • २२ पाठक संख्या
  • तिर्थराज काफ्ले नवलपुर
    मध्यविन्दु नगरपालिका नवलपुरका मेयर भिमलाल अधिकारी ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि संघीय सरकारले स्पष्ट धारणा र दीर्घकालीन व्यवस्थापनको आधार दिनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकहरू अहिले पुर्जा पाउने आशाबाट उठीबासको भयमा पुगेको बताएका हुन्।
    उनले “घर कस्को ? — बस्नेको, जमिन कस्को ? — जोत्नेको” भन्ने नारालाई सार्थक बनाउन आफूहरू निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै स्थानीय तहमा नेतृत्वमा आएपछि सुकुम्बासी समस्या समाधानका लागि हरसम्भव प्रयास गरिएको बताए।
    मेयर अधिकारीका अनुसार मध्यबिन्दु नगरपालिकामा ९० घरधुरी सुकुम्बासी परिवारलाई पुर्जा वितरण प्रक्रिया सुरु भइसकेको छ भने करिब ५ हजार परिवारको पुर्जा निर्माण अन्तिम चरणमा पुगेको छ। लगत संकलन, निस्सा वितरण, जग्गा नापी तथा पुर्जा निर्माणसम्मको प्रक्रिया पूरा हुँदै गर्दा नागरिकहरूमा एकाएक त्रास फैलिएको उनले बताएका छन्।
    उनले मन्त्रालय, जिल्ला प्रशासन र सुरक्षा निकायबाट पटक–पटक आएका पत्राचार तथा काठमाडौंलगायत विभिन्न स्थानमा भएका डोजर अभियानले देशभरका सुकुम्बासी बस्तीमा डर र अन्योल सिर्जना गरेको दाबी गरे। “काठमाडौंका बस्ती उजाडिँदा हाम्रो मन पनि दुख्छ,” उनले भनेका छन्।
    संघीय सरकारतर्फ संकेत गर्दै उनले स्थानीय तहलाई दबाब दिने र दोष पनि स्थानीय सरकारमै थोपर्ने प्रयास भइरहेको टिप्पणी गरेका छन्। “अब जनता जागरुक भएका छन्, भ्रम धेरै दिन टिक्दैन,” भन्दै उनले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकहरूको अधिकार स्थापित गर्ने अभियानमा आफूहरू सधैं साथमा रहने बताएका छन्।
    मेयर अधिकारीले संघीय सरकारलाई त्रसित मानसिकतामा रहेका नागरिकलाई ढुक्कसँग बाँच्न सक्ने आधार स्पष्ट पार्न आग्रह गर्दै सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन व्यवस्थापनमा सबै तहका सरकार, जनप्रतिनिधि र नागरिक समाजको ध्यान जानुपर्ने बताएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट