आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

ऋषिङ्गपाटनमा आयोजित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न , करिब ५०० जनाको स्वास्थ्य परीक्षण गरियो


  • समाचार कुञ्ज
  • २०८३ जेष्ठ ३, आईतबार मा प्रकाशित २ हफ्ता अघि
  • ३२ पाठक संख्या
  • तनहुँ । जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आयोजनामा भिमाद नगरपालिका वडा नं. ५ स्थित पाटन इंग्लिश बोर्डिङ स्कुल को प्राङ्गणमा सञ्चालन गरिएको बृहत निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।

    पाटन बचत तथा ऋण सहकारी संस्थाको सहयोग तथा भिमाद नगरपालिकाको समन्वयमा आयोजित शिविरबाट करिब ५०० जनाले स्वास्थ्य सेवा लिएको आयोजकले जनाएको छ ।
    नेपाल सरकारको “स्वास्थ्य कर कोष” अन्तर्गत विनियोजित बजेटमार्फत तनहुँ जिल्लाका विभिन्न स्थानीय तहमा स्वास्थ्य शिविर सञ्चालन भइरहेको र सोही कार्यक्रम अन्तर्गत भिमादमा पनि शिविर आयोजना गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. राम कुमार श्रेष्ठले जानकारी दिए ।
    उनका अनुसार शिविरमा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, महिला तथा प्रसुति रोग परीक्षण, सुगर तथा रक्तचाप परीक्षण, बालरोग सम्बन्धी सेवा, इसिजी परीक्षण, श्वासप्रश्वास सम्बन्धी परीक्षण, आवश्यक प्रयोगशाला परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको थियो । साथै दीर्घरोग, पोषण, सरसफाइ तथा स्वास्थ्य सचेतनासम्बन्धी परामर्श सेवा समेत प्रदान गरिएको थियो ।
    स्वास्थ्य परीक्षणलाई समयमै प्राथमिकता दिन सके धेरै जटिल रोग प्रारम्भिक अवस्थामै पहिचान गर्न सकिने भन्दै निर्देशक श्रेष्ठले नियमित स्वास्थ्य परीक्षणको आवश्यकता औंल्याए । विशेषगरी ग्रामीण क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन यस्ता शिविर प्रभावकारी हुने उनले बताए ।
    शिविरमा ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा दीर्घरोगीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ परामर्शसम्मका सेवा एकै स्थानमा उपलब्ध हुँदा स्थानीयवासी उत्साहित बनेका थिए ।
    सहयोगी संस्थाका रूपमा रहेको पाटन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक अमृत गैह्रेले गाउँमै सञ्चालन गरिएका यस्ता स्वास्थ्य शिविर अझै आवश्यक रहेको बताए । उनले ग्रामीण क्षेत्रका धेरै नागरिक आर्थिक अवस्था, दूरी तथा पहुँचको अभावका कारण समयमै स्वास्थ्य परीक्षण गर्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविर आयोजना गर्न सहकारी संस्था सकारात्मक रहेको बताए ।
    त्यस्तै शिविरमा सहभागी बिना कुमारी चापागाईं गैह्रेले घरदैलोमै स्वास्थ्य सेवा प्राप्त गर्न पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिइन् । उनले गाउँमै विशेषज्ञ डाक्टरबाट परीक्षण र औषधि पाउँदा उपचारका लागि टाढा धाउनुपर्ने समस्या कम भएको बताइन् ।
    ग्रामीण क्षेत्रमा सञ्चालन हुने स्वास्थ्य शिविरहरूले रोगको प्रारम्भिक पहिचान, स्वास्थ्य सचेतना अभिवृद्धि तथा सर्वसाधारणलाई सहज उपचार पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट