आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

सर्दीमा किशोरकिशोरीलाई आत्मसुरक्षा र अधिकारबारे सचेतना, १२० जना सहभागी


  • समाचार कुञ्ज
  • २०८३ जेष्ठ १२, मंगलबार मा प्रकाशित ६ दिन अघि
  • २२ पाठक संख्या
  • बिनय त्रीवेणी, नवलपुर —

    बिनय त्रीवेणी गाउँपालिका वडा नं. ४ सर्दीमा दलित समुदायका किशोरकिशोरीलाई लक्षित गर्दै आत्म सुरक्षा तथा जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको छ। दलित सुधार समितिको आयोजनामा तथा वडा नं. ४ को सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा वडा क्षेत्रका १२० जना किशोर तथा किशोरीको सहभागिता रहेको थियो।

    समुदायस्तरमा किशोरकिशोरीको सुरक्षा, अधिकार र सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बाल अधिकार, किशोरकिशोरीको हक, लैंगिक हिंसा, बालविवाह, छुवाछुत, विभेद, दुर्व्यवहार तथा आत्म सुरक्षाका उपायबारे जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ।

    कार्यक्रममा सहभागीहरूलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी व्यावहारिक अभ्याससमेत गराइएको थियो। जोखिमपूर्ण अवस्थाबाट कसरी सुरक्षित रहने, हिंसाको प्रतिकार कसरी गर्ने, आफ्नो अधिकारको संरक्षण तथा आत्मविश्वासका साथ आफ्नो विचार प्रस्तुत गर्ने विषयमा प्रायोगिक प्रशिक्षण दिइएको थियो।

    प्रशिक्षक दिपक शर्मा र सजिना अधिकारीले सहजीकरण गर्नुभएको कार्यक्रममा किशोरकिशोरीलाई सुरक्षित व्यवहार, नेतृत्व विकास, आत्मसम्मान तथा सामाजिक जिम्मेवारीका विषयमा जानकारी गराइएको थियो। उहाँहरूले बदलिँदो सामाजिक परिवेशमा किशोरकिशोरी सचेत, सक्षम र आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभएको थियो।

    कार्यक्रमको उद्घाटन दलित सुधार समितिका अध्यक्षको अध्यक्षतामा सम्पन्न भएको थियो भने वडा नं. ४ का वडाध्यक्ष साहिल श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, अभिभावक, समाजसेवी तथा समितिका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    समापन समारोहमा गाउँपालिका कार्यपालिका सदस्य कृष्ण बिकले दलित समुदाय अझै पनि सामाजिक, शैक्षिक र आर्थिक रूपमा पछाडि रहेको उल्लेख गर्दै शिक्षा, सीप र चेतनाको विकासमार्फत समुदायलाई सशक्त बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले अधिकार प्राप्तिका लागि समुदायभित्र एकता, चेतना र नेतृत्व विकास अपरिहार्य रहेको धारणा राख्नुभयो।

    उहाँका अनुसार स्थानीय तहले दलित समुदायको सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ भने आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याइने तयारी गरिएको छ।

    नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन २०७५ तथा बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिले बालबालिकालाई हिंसा, विभेद र दुर्व्यवहारबाट सुरक्षित रहने अधिकार सुनिश्चित गरेको छ। साथै, जातीय विभेद र बालविवाह कानुनतः दण्डनीय अपराधका रूपमा परिभाषित गरिएको छ।

    कार्यक्रमका सहभागीहरूले तालिमबाट आत्म सुरक्षा, नेतृत्व विकास, अधिकारसम्बन्धी ज्ञान र सामाजिक व्यवहारबारे महत्वपूर्ण सिकाइ प्राप्त भएको प्रतिक्रिया दिएका छन्। आयोजकले आगामी दिनमा पनि यस्ता सशक्तीकरण तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट