आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

मोटरसाइकलको चक्कामा सल बेरिँदा २२ वर्षीया स्मृति कार्की रानाभाटको मृत्यु


  • समाचार कुञ्ज
  • २०८१ बैशाख १६, आईतबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • महोत्तरी । महोत्तरीको बर्दिबास जंगलमा मोटरसाइकल दुर्घटना हुँदा १ जना युवतीको मृत्यु भएको छ । दुर्घटनामा उनकी आमा गम्भीर घाइते भएकी छिन् । पूर्व – पश्चिम राजमार्गमा पर्ने बर्दिबास नगरपालिका -५, टुटेश्वर जंगलमा सर्लाहीदेखि महोत्तरीको बर्दिबास तर्फ जाँदै गरको प्रदेश २ – ०३ – ००७ प ३३६९ नम्बरको मोटरसाइकल आज दुर्घटनामा परको हो ।

    दुर्घटनामा सर्लाहीको वाग्मती नगरपालिका -४, कर्मैया निवासी २२ वर्षीया स्मृति कार्की रानाभाटको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए । दुर्घटनामा उनकी आमा ५० वर्षीया उषा कार्की गम्भीर घाइते भएकी छिन् । उनलाई बर्दिबासमा रहेको शुभ स्वस्तिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौं लगिएको डीएसपी पोखरेलले बताए । ‘मोटरसाइकल छोरीले चलाएकी रहिछन्’, डीएसपी पोखरेलले भने,‘पछाडि बसेकी आमाको सल मोटरसाइकलको पछाडीपट्टीको चक्कामा बेरिँदा घटना भएको देखिन्छ ।’

    सल मोटरसाइकलको पछाडिपट्टीको चक्कामा बेरिएर मोटरसाइकल अनियन्त्रित भई सडकमा ढलेपछि आमा र छोरी गम्भीर घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका आमा र छोरीलाई प्रहरीले तत्कालै उपचारका लागि शुभ स्वस्तिक अस्पताल बर्दिबास पुर्याएको थियो । ‘त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपुरतर्फ लैजाँदै गर्दा स्मृति कार्की रानाभाटको मृत्यु भएको हो,’ डीएसपी पोखरेलले भने,‘जनकपुरस्थित काब्या अस्पताल पुर्याउँदा उनलाई

    चिकित्सकले मृत घोषणा गरेका हुन् ।’ मृतक स्मृति कार्की रानाभाटको माइत सर्लाहीकै लालबन्दी नगरपालिका -४, हरिभवन हो । १ वर्षअघि मात्रै उनको विवाह भएको थियो । मृतक स्मृति कार्की रानाभाटको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको पोखरेलले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट