
समाचार कुञ्ज काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगम सञ्चालक समितिको आजको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य आज मध्यरातिदेखि लागू हुने छ । अब नयाँ मूल्यअनुसार काठमाडौंमा पेट्रोल १ सय ६५ रुपैयाँ र डिजेल तथा मट्टितेल १ सय ५५ रुपैयाँ प्रतिलिटर भएको छ । आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैँ कच्चा तेल खरिद गर्दैन । आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ ।
यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना १५ / १५ दिनमा आयल निगमलाई मूल्य पठाउँछ । भारतीय आयल कर्पोरेसन ( आइओसी ) ले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ । लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ ।
त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नु पर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ । यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ । यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो ।

प्रतिक्रिया दिनुहोस