
समाचार कुञ्ज वाकाथन भन्ने बित्तिकै मानीसहरु हिड्ने, टहल्ने भन्ने बुझिन्छ तर त्यही वाकाथनलाई आफ्नो वरपरको बाताबरण संरक्षण र सरसफाईको लागि हिँडदै फोहोर टिप्ने प्रतियोगिता ( प्लगीँग वाकाथन)नवलपुरमा पहिलो पटक प्लगीँग वाकाथन २०८१ कावासोती नगरको नारायणी नदि किनार पिठौलीमा सम्पन्न गरिएको छ ।
कावासोती नगरपालिका वडा नं. १२ को आयोजना र जागृति बाल तथा युवा सरोकार नेपाल, द गार्डेन अफ होप फाउन्डेसन, एसियन गल्र्स अभियान लगायतका अन्य संघसंस्थाको समन्वयमा सो वाकाथन पहिलो पटक सम्पन्न गरिएको कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनाल(दिपेश) ले बताउनुभयो । गाँउघरमा सरसफाईको लागि टोल विकास समितिहरुले सक्रियताका साथ नै कामहरु गरिराखेको सन्दर्भमा आफ्नो वडा भित्र रहेको विद्यालयका बालबालिकाहरुलाई बाताबरण संरक्षण र आफ्नो फोहोरको जिम्मेवारी आफुलै नै बहन गर्नुपर्ने कुरा सिकाउनको लागि यो वाकाथन खेलको कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।
नेपालमा र विश्वका धेरै देशहरुमा सन्देशको लागि यस्ता खालका कार्यक्रमहरु सञ्चालन भएको देखेको तर नवलपुरमा नभएकोले यसको लागि युवाहरु र स्वयम बालबालिकाहरुले पनि नेतृत्व लिनुपर्छ भन्ने भावनाले कार्यक्रमको अवधारणा निर्माण गरी वडासँग समन्वय गरेको किशोरी अभियन्ता सवनम सुनारले बताउनुभयो । उहाँले ताईवानमा प्रत्येक वर्ष हुने एसियन गल्र्स अभियानमा २०२४ मा नेपालबाट छनौट भएपश्चात यो कार्यक्रमको अवधारणा पेश गरेको र यसरी अन्य सरोकारवालाहरुसँग मिलेर गर्न पाँउदा यसको सान्दर्भिकता र महत्व बढेको उहाँले बताउनुभयो ।
खेलमा कावासोती १२ भित्रका ४ विद्यालयहरुका बालबालिकाहरु र अन्य व्यक्तिहरुले सहभागिता जनाएका थिए । ४५ मिनेटको वाकाथनमा पिठौली चोकबाट नारायणी नदिको किनार हुँदै नुहाउनी घाटसम्मको दुरी तय गरिएको थियो । कार्यक्रममा सहभागिहरुलाई सो निश्चित क्षेत्रमा ४५ मिनेट भित्र पुग्न र प्लास्टिकजन्य फोहोरहरु संकलन गर्ने र अन्तमा जसको बढी फोहोर संकलन हुन्छ उसैलाई पुरस्कारको व्यवस्था गरि सञ्चालन गरिएको थियो ।
कार्यक्रममा वाईज भिजन ई स्कुलका सुजल महत्तोले ७.५ केजी फोहोर संकलन गरी प्रथम, वाईज भिजन ई स्कुलका चन्दन गुरुँगले ५.७ केजी फोहोर संकलन गरी दोस्रो र वाईज भिजन ई स्कुलका कविर घिमिरले ५.६ केजी फोहोर संकलन गरी तृतिय स्थान हासिल गर्न सफल हुुनुभएको थियो । कार्यक्रममा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश नगद रु ३०००, २००० र १००० र थप ७ जनालाई नगद रु ५०० प्रदान गरिएको थियो ।
त्यस्तै अन्य ७ जनालाई समेत जनही रु ५०० उत्प्रेरणा स्वरुप हस्तान्तरण गरिएको थियो । साथै आज नै वडा भित्रका ४ विद्यालयहरुलाई फोहोरहरु संकलनको लागि वडाबाट डस्टविनहरु समेत हस्तान्तरण गरिएको थियो ।
बालबालिकाहरुलाई विदाको दिनमा रचनात्मक ढँगबाट सहभागिता गराई बाताबरण संरक्षण र फोहोरको दिगो व्यवस्थापनको उपायहरु बारेमा जानकारी दिन गरेकोमा वाईज भिजन स्कुलका प्रिन्सिपल तिलकचन सापकोटाले खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमहरु सवैले मासिक रुपमा गर्नुपर्ने र बालबालिकाहरुलाई रचनात्मक ढँगबाट अगाडी लैजान सुझाव समेत दिनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुनले यो फरक र नयाँ तरिकाबाट वाकाथन गरेकोमा आयोजकलाई धन्यबाद दिँदै व्यक्ति स्वस्थ रहनको लागि गर्न सकीने विभिन्न क्रियाकलापहरु वडाले आगामी दिनमा समेत गरी सवै नागरिकलाई स्वस्थ र खुसी राख्नको लागि पहल गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा वडा भित्रका जनप्रतिनिधीहरु, विभिन्न क्लवका प्रतिनिधीहरु, टोल विकास समितिका पदाधिकारीहरु, विद्यालयका प्रतिनिधीहरु र अन्य सरोकारवालाहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस