
समाचार कुञ्ज असोज ८, कावासोती,
जिल्ला प्रशासन कार्यालय नवलरासी (वर्दघाट सुस्ता पूर्व) नवलपुरले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा योजना–२०८१ पारित गरेपछि जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागू भएको हो ।
जिल्ला सुरक्षा समितिले पारित गरेका योजनाहरुमा योजनामा घरेलु मदिरा नियन्त्रण, पूर्व–पश्चिम राजमार्ग र सहायक मार्ग क्षेत्रको सुरक्षा चाडपर्वको अवधी भर सवारी दुर्घटना, ट्राफिक नियमको उल्लघन, अवैध सामाग्री, लागुऔषध, पटका ओसार पसार लगायतका गतिविधि रोकथामलाई प्राथमिकतामा राखिएको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताउनुभएको छ ।
जसका लागि नेपाल प्रहरीको तर्फबाट ३ सय ४५ र सशस्त्र प्रहरीको तर्फबाट १ सय ७८ जना जनशक्ति परिचालन गरिने प्रजिअ पोख्रेलले बताउनुभयो । उहाँका अनुसार जिल्लामा खाद्यान्न र अत्यावश्यक सामग्रीको कृत्रिम अभाव हुन नदिन बजार अनुगमन समेत तीव्र पारिएको छ ।
रेडियो कावासोतीसंगको कुराकानीमा प्रजिअ पोख्रेलले जिल्लामा परिचालन गरिने सुरक्षाकर्मीको संख्या प्रयाप्त हुने बताउनुभयो । त्रिवेणीदेखि पहाडी क्षेत्र ठूलो क्षेत्र र भौगोलिक एकरुपता नहुँदा सुरक्षा समितिले पारित गरेको सुरक्षाकर्मीको संख्या प्रयाप्त नहोला की ? भन्ने हाम्रो प्रश्नमा प्रजिअ अधिकारीले विगतका अनुभव समेतलाई हेरेर संख्या तय गरिएकाले त्यसो नहुने बताउनुभएको छ ।
यस्तै नारायणगढ बुटवल सडक विस्तारको क्रममा रहेका कारण यस खडक खण्ड भएर आवतजावत गर्ने यात्रुले सास्ती भोग्न नपरोस भनी आयोजनासंग सडकको खाल्डाखुल्डी पुरेर मर्मत गर्ने विषयमा छलफल समेत भएकोले दशैँसम्म बाटो सुधार हुने उहाँको भनाई छ । जसका लागि प्रशासनको तर्फबाट ताकेता भइरोखेको पोख्रेलले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस