पाल्पा —सामुदायिक र राष्ट्रिय वनमा लागेको डढेलो निभाउने क्रममा पाल्पा र गुल्मीमा चार जना घाइते भएका छन् । शनिबार दिउँसोदेखि महाभारत क्षेत्रमा लागेको डढेलो निभाउने क्रममा पाल्पाको रैनादेवी छहरा–१ सिद्धेश्वरका ५५ वर्षीय टोपबहादुर बुढा गम्भीर घाइते भएका छन् ।
स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि थप उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा रिफर गरिएको रैनादेवी छहरा–१ सिद्धेश्वरका वडाध्यक्ष सोमबहादुर दर्लामीले बताए । माथागढी गाउँपालिका–४ झडेवा जामुनडाँडामा डढेलो निभाउने क्रममा ६५ वर्षीय पूर्णबहादुर कामु मगर घाइते भएको वडाध्यक्ष शंकर दर्लामीले जानकारी दिए । कामु मगरको अवस्था भने सामान्य रहेको छ ।
यस्तै गुल्मीमा डढेलो निभाउने क्रममा इस्मा गाउँपालिका–१ उजुङका १९ वर्षीय हिमाल राना र मुसीकोट नगरपालिका–७ का २१ वर्षीय प्रेम राना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते राना ट्याक्टर चालक हुन् भने मुसीकोटका राना एक्साभेटर चालक हुन् । उनीहरुलाई उपचारका लागि गुल्मी अस्पतालले पाल्पामा रिफर गरेको छ । पाल्पा, गुल्मी र अर्घाखाँचीमा शनिबारदेखि सामुदायिक र राष्ट्रिय वनमा लागेको डढेलो बस्तीमा पस्दा सय बढी घरगोठ जलेका छन् ।
पाल्पाको सिद्धेश्वरको साउने, मन्द्रान, मोहरे क्षेत्रका सामुदायिक वनमा डढेलो लागेको छ । डडेलो बस्तीमा पसेपछि भविश्वर पाण्डेय र रामनाथ पाण्डेको घर गोठ जलेर नष्ट भएको वडाध्यक्ष दर्लामीले बताए । सिद्धेश्वर क्षेत्रमा लागेको डढेलो आइतबार बिहानसम्म नियन्त्रणमा आउने सकेको छैन । माथागढी गाउँपालिकाको झडेवा क्षेत्रमा ५ जनाको घर गोठ जलेर पूर्ण रूपमा नष्ट भएको छ । घर गोठमा लागेको डढेलो नियन्त्रणमा आए पनि उक्त जंगलमा नियन्त्रणमा आउन सकेको छैन । पाल्पाकै सिलुवामा लागेको डढेलोले दुई घर र गोठ जलेर नष्ट भएको छ । पाल्पा सदरमुकाम तानसेनको बतासे डाँडा, श्रीनगरडाँडा, धरमपानीलगायतका क्षेत्रमा लागेको डढेलो पूर्ण रूपमा नियन्त्रण नआएको डिभिजन वन कार्यालयका सूचना अधिकारी संयोग बस्नेतले जानकारी दिए ।
पाल्पाकै बगनासकालीको चिर्तुङ्धारा, पोखराथोक क्षेत्र, रिब्दीकोटको कुसुमखोला, पालुङमैनादी, रिब्दीकोट जंगल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीका अनुसार हावाहुरीका कारण डढेलो नियन्त्रणमा समस्या भएको हो । तिनाउ गाउँपालिकाको दोभान, झुम्सा, कचल, रैनादेवी छहराको जुठापौवा, सत्यवती, बल्ढेङगढी क्षेत्रमा पनि डढेलो लागेको स्थानीयले बताए ।
गुल्मीको इस्मा गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकामा जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि ४५ बढी घरगोठ जलेको छ । यसैगरी अर्घाखाँचीको भूमिकास्थानमा लागेको डढेलो बस्तीमा पसेर २० बढी घरगोठ जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डढेलो र आगलागीबाट क्षति पुगेको परिबारलाई सुरक्षित स्थानमा सार्ने काम भएको स्थानीय तहले जनाएका छन् । उनीहरूलाई तत्काल खाद्यान्न सामग्री वितरण गर्ने काम भएको उनीहरुले जनाए । डढेलो निभाउन स्थानीय जनप्रतिनिधि, नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीसहित स्थानीयले प्रयास गरे पनि हावाहुरीले गर्दा समस्या हुने गरेको छ ।स्रोत कान्तिपुर अनलाइन
प्रतिक्रिया दिनुहोस