आज: २०८३ बैशाख ९, बुधबार | Wed, 22, Apr, 2026

तार पोल पुग्यो, अर्खलामा पुगेन बिजुली


  • समाचार कुञ्ज
  • २०८३ बैशाख ८, मंगलबार मा प्रकाशित १ दिन अघि
  • २३ पाठक संख्या
  • दयाराम आचार्नय , वलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युतका तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको छैन । जिल्लाको बुलिङटार गाउँपालिकाको अर्खला, देउराली लगायतका विभिन्न गाउँमा अझै राष्ट्रिय प्रसारण लाइनको बिजुली पुग्न नसकेको हो ।
    बुलिङटार गाउँपालिका–४ को अर्खलामा विद्युत वितरणका संरचना (तार, पोल लगायत) निर्माण भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि विद्युत वितरण हुन नसकेको वडा अध्यक्ष मिनबहादुर आलेले बताउनुभयो ।
    उक्त वडाकै देउरालीका बासिन्दाले विद्युत मिटर जडानका लागि शुल्क बुझाएको पनि लामो समय भइसकेको छ, तर बिजुली बाल्न नपाएको उहाँले बताउनुभयो ।
    विद्युत प्राधिकरणले बोझा पोखरीमा विद्युत सबस्टेसन सञ्चालन गरेको छ । तर उक्त सबस्टेसनबाट ७÷८ किलोमिटर दूरीमा रहेका गाउँहरू अझै पनि अँध्यारोमा बस्न बाध्य छन् भने केही गाउँ लघु जलविद्युतमा निर्भर रहनुपरेको अवस्था रहेको वडा अध्यक्ष आलेले बताउनुभयो ।
    अर्खलामा लघु जलविद्युतमार्फत बत्ती बालिए पनि आवश्यकताअनुसार विद्युत उपभोग गर्न नसकिएको उहाँको गुनासो छ । “लघु जलविद्युत छ, त्यो रातिमा मात्र चल्छ, दिनभरि केन्द्रको बिजुलीका तार र पोल हेरेर बस्नु बाहेक केही उपाय छैन,” अध्यक्ष आलेले भन्नुभयो, “हामीले ताकेता गरिरहेका छौं, तर यी तारमा बिजुली कहिले आउने हो थाहा छैन ।”
    बिजुली नहुँदा वडा कार्यालयबाट प्रदान गरिने सेवा समेत प्रभावित हुने गरेको उहाँको भनाई छ । ‘वडा कार्यालयमा दिउसोका लागि सोलार छ, तर घाम लागेन भने चल्दैन, हिजो आज धेरै सेवा प्रविधिसँग जोडिएको छ, सेवाग्राहीलाई तेसै फर्काउनुपर्ने अवस्था हुन्छ, बिजुली आए यो समस्या हट्ने थियो’ वडा अध्यक्ष आलेले भन्नुभयो ।
    दिनको समयमा कसैको घरमा बिहे, पूजा आदि कार्यक्रम परेमा पहिले नै सूचना दिई लघु जलविद्युत सञ्चालन गराउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । उक्त लघु जलविद्युतबाट सामान्य बत्ती बाल्ने काम मात्र गर्न सकिने र धेरै विद्युतिय उपकरण सञ्चालन गर्न नसकिने उहाँको भनाइ छ । लघु जलविद्युत रातिको समयमा मात्र सञ्चालन हुने गरेको छ ।
    विद्युत वितरण केन्द्र कावासोतीका प्रमुख शिवनारायण गोशलीका अनुसार ठेकेदारको लापरवाहीका कारण विद्युत विस्तारमा ढिलाइ भएको हो । विद्युत वितरणको पूर्वाधार निर्माणका लागि ठेक्का लागेको लामो समय भए पनि समयमा काम सम्पन्न नभएकाले ती क्षेत्रमा बिजुली वितरण गर्न नसकिएको उहाँले बताउनुभयो ।
    गण्डकी प्रदेश सरकारको “उज्यालो गण्डकी प्रदेश” कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७६÷०७७ मा यस क्षेत्रमा कार्यक्रम अघि बढाइएको थियो । युनिकर्न कन्स्ट्रक्सनले पूर्वाधार निर्माणको जिम्मा पाएको भए पनि समयमा काम नसक्दा उक्त क्षेत्रमा विद्युत पुर्याउन नसकिएको कार्यालय प्रमुख गोशलीले बताउनुभयो ।
    सो क्षेत्रमा केही स्थानमा पहिरोले विद्युत पोलमा क्षति पुर्याएकाले अहिले बजेट विनियोजन गरी काम अगाडि बढाइएको उहाँको भनाइ छ ।
    निर्माणको जिम्मा पाएको कम्पनीलाई निरन्तर ताकेता गरिरहेको र बाँकी संरचना निर्माण सम्पन्न गरेर छिट्टै उक्त क्षेत्रका गाउँहरूमा बिजुली बाल्ने तयारी भइरहेको कार्यालय प्रमुख गोशलीले बताउनुभयो । देउराली, अर्खला, सिङ्च्याङ हुँदै कालीगण्डकी करिडोरको कोखेटारसम्म छिट्टै विद्युत पुर्याइने उहाँको भनाइ छ ।
    “हामीले विद्युतका संरचना निर्माण सक्न ताकेता गरिरहेका छौं, सायद अब छिट्टै काम सकिएर उक्त क्षेत्रमा बिजुली बल्नेछ,” कार्यालय प्रमुख गोशलीले भन्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट