
समाचार कुञ्ज नवलपरासी (पूर्व), बौदीकाली-२ डेढगाउँमा अवस्थित बालकल्याण आधारभूत विद्यालयले शैक्षिक लघु भ्रमणअन्तर्गत बौदीकाली गाउँपालिका–१ मा अवस्थित मिथुकराम झण्डा डाँडामा शैक्षिक भ्रमण सम्पन्न गरेको छ।

शनिबारको दिन विद्यालयका प्रधानाध्यापक गंगाधर पोखरेलको नेतृत्वमा शिक्षक गोबिन्द रावल, सम्राट पाण्डे, हेम थापा सहित कक्षा ८ का २० जना विद्यार्थी गरी जम्मा २४ जनाको टोली झण्डा डाँडामा पुगेको थियो।
भ्रमणका क्रममा विद्यार्थीहरूले झण्डा डाँडाको भौगोलिक अवस्था, प्राकृतिक वातावरण, ऐतिहासिक तथा स्थानीय महत्व लगायतका विषयमा प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गरेका थिए। विशेषगरी विद्यालयका निमावि विज्ञान शिक्षक सम्राट पाण्डेद्वारा झण्डा डाँडाको बारेमा विस्तृत जानकारी प्रदान गरिएको थियो। शिक्षकले स्थानीय भूगोल, प्राकृतिक स्रोत, वातावरणीय पक्ष तथा त्यस क्षेत्रको महत्वका बारेमा विद्यार्थीहरूलाई जानकारी गराउनुभएको थियो।
कक्षाकोठामा पढेका विषयवस्तुलाई प्रत्यक्ष स्थल अवलोकनसँग जोड्ने उद्देश्यले गरिएको उक्त भ्रमणले विद्यार्थीहरूमा व्यावहारिक ज्ञान, अवलोकन क्षमता र स्थानीय वातावरणप्रतिको रुचि बढाउन सहयोग पुगेको विद्यालयले जनाएको छ।
भ्रमणका क्रममा विद्यार्थीहरूले झण्डा डाँडाको प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै विभिन्न शैक्षिक गतिविधिमा समेत सहभागिता जनाएका थिए। यस प्रकारका शैक्षिक भ्रमणले विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा सीमित ज्ञानभन्दा बाहिर गई प्रत्यक्ष अनुभवबाट सिक्ने अवसर प्रदान गर्ने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।
विद्यालयका प्रधानाध्यापक गंगाधर पोखरेलसहित सहभागी शिक्षक तथा विद्यार्थीहरूले भ्रमणलाई ज्ञानवर्धक, रमाइलो र स्मरणीय रहेको बताएका छन्। शिक्षासँग प्रत्यक्ष अनुभवलाई जोड्ने उद्देश्यले गरिएको यस भ्रमणले विद्यार्थीहरूको सिकाइलाई थप प्रभावकारी बनाएको देखिन्छ।
प्रतिक्रिया दिनुहोस