
समाचार कुञ्ज तिर्थराज काफले, असार ५ — लगातारको वर्षाका कारण नारायणगढ–बुटवल सडक खण्डको विनयी खोलामा पानीको सतह उच्च भएका कारण सवारी साधन सञ्चालनमा अवरोध उत्पन्न भएको छ। उक्त क्षेत्रको डाइभर्सन बगाउँदा र निरन्तर वर्षा जारी रहँदा बुटवल–दाउने सडक खण्ड तथा विश्वकर्मा मन्दिर, घ्याबदी, लगायतका स्थानमा सडक विग्रिएर यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) ले जनाएको छ।
प्रहरीका अनुसार अहिलेको अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारी साधन चलाउनेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र अनावश्यक यात्रा नगर्न अनुरोध गरिएको छ। साथै, निम्न वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको सिफारिस गरिएको छ:
१. पूर्वबाट पश्चिम जाने सवारी: नारायणगढ, मुग्लिन, पोखरा, स्वाङ्जा, बुटवल हुँदै गन्तव्य स्थान
२. काठमाण्डौंबाट पश्चिम जाने सवारी: मुग्लिन, पोखरा, स्वाङ्जा, बुटवल हुँदै गन्तव्य स्थान
३. पश्चिमबाट पूर्व जाने सवारी: बुटवल, स्वाङ्जा, पोखरा, मुग्लिन हुँदै गन्तव्य स्थान
४. सानातिना सवारी साधनहरू: कालिगण्डकी करिडोर अन्तर्गत गेडाकोट, पिपलडाँडा सडक खण्ड प्रयोग गर्न सकिने
यस असहज अवस्थाका कारण यात्रा नगर्न सक्ने यात्रुहरूलाई पनि आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस