
समाचार कुञ्ज ज्ञानु पंगेनी , असार २९ गते ।
द्वन्द्वका घाउहरू निको पार्नका लागि आयोगलाई सही ढङ्गले काम गर्ने वातावरण बनाउनुपर्ने पूर्व सांसद तथा नेकपा एमाले केन्द्रीय सदस्य तिलक महतले बताउनुभएको छ । उहाँले द्वन्द्वका समयमा भएका गम्भीर प्रकृतिका घटनाहरूलाई विशेष ढङ्गले अगाडी बढाउन जरुरी रहेको समेत बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च ( मानव अधिकार एलायन्स नेपाल )को २६ औँ स्थापना दिवसको अवसरमा जिल्लाले कावासोतीमा आइतबार आयोजना भएको सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन सम्बन्धी आयोगको सम्बन्धमा वर्तमान कानुनी सन्दर्भ र पीडतीहरूको अवधारणा विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । एमालेमा आबद्ध सबैले मानव अधिकारका विषयमा बुझेर मानव अधिकार रक्षाका लागि लाग्नुपर्ने र मानव अधिकारका थप घटना घट्न नदिने कुरामा सचेत हुनुपर्ने बताउनुभयो ।उहाँले नेकपा एमाले पार्टीले द्वन्द्वका समयमा प्रभावित र पीडित बनेकाहरूलाई सम्झने वातावरण तयार पार्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य डा. गोपाल खनालले बोल्दै यस प्रकारको कार्यक्रमलाई एलायन्सले गाउँ तहसम्म लगेर मानव अधिकारका बारेमा सचेत बनाउने काम गर्न सुझाव राख्नुभएको थियो ।
यस्तै नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष जीवन श्रेष्ठले मानव अधिकार रक्षाका लागि एमाले पार्टी सदैव तत्पर रहेको भन्दै द्वन्द्व प्रभावितहरूका सवालमा उनीहरूका मागलाई सम्बोधन गर्ने कुरामा आफ्नोतर्फबाट पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले एलायन्सका बारेमा नेकपा एमालेकै धेरै नेता कार्यकर्तालाई नै जानकारी नभएको अवस्था रहेको भन्दै सबैलाई जानकारी हुने गरी वृहत् कार्यक्रम आयोजन गर्न जरुरी रहेको समेत बताउनुभयो ।
यस्तै युवा सङ्घ नेपाल नवलपुरका अध्यक्ष रमेश ढकालले मानव अधिकारका सन्दर्भमा युवाहरूलाई समेटेर कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा नेपाल बार एसोसिएसन उपाध्यक्ष , अधिवक्ता भूपेन्द्र खनालले सहजीकरण गर्दै उहाँले कार्यक्रमको मूल सन्दर्भ प्रस्तुत गर्दै आयोगहरूको गठन, कानुनी प्रावधान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता र वर्तमान कार्यान्वयन अवस्थाको गहिरो विश्लेषण गर्नुभयो । साथै, पीडितको दृष्टिकोण, पीडित मैत्री न्याय प्रणाली र आगामी कदमहरूबारे समेत सहजीकरण गर्नुभयो । अधिवक्ता खनालले आयोगको गठन, कार्यक्षेत्र, कानुनी चुनौती, पीडितको पहुँच र न्याय प्रणालीको बाधा तथा सुधारका सम्भावनाहरूबारे विस्तृत प्रस्तुति समेत राख्नुभएको थियो । उहाँले द्वन्द्वको समयमा प्रभावित बनेकाहरूका लागि अब पार्टीले के कस्ता काम र योजनाहरू बनाउन सकिन्छ त भन्ने बारेमा आफ्नो सुझावहरू समेत राख्नुभएको थियो ।
कार्यक्रममा सत्य निरूपण आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको खोज आयोगको प्रभावकारिता र कार्यक्षमता ,पीडितको दृष्टिकोणबाट न्याय प्राप्तिको अवस्थाको विश्लेषण, कानुनी संरचनाको कमजोरी तथा सुधार आवश्यकताको पहिचान , मानव अधिकारको संरक्षणमा नागरिक समाज र राज्यको भूमिकाबारे गहन छलफल भएको थियो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्र , प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी , एवम् सदस्यहरू , एमालेबाट निर्वाचित जनप्रतिनिधि , मानव अधिकार एलायन्स नेपालका केन्द्र प्रदेश तथा जिल्लाका प्रतिनिधिहरू एमालेका विभिन्न भातृ सङ्गठनका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको समापन गर्दै मानव अधिकार एलायन्स नेपाल नवलपुरका अध्यक्ष दिपक शर्माले मानव अधिकारको विषय र द्वन्द्व प्रभावितको विषयलाई तल्लो तहसम्म पुगेर सचेतना अभिवृद्धि गर्ने र द्वन्द्व पीडितहरूको न्यायका लागि संस्थाले भूमिका खेल्ने बताउनुभयो । कार्यक्रमले उठाएका विषयहरू आगामी दिनमा संस्थागत दबाब र नीतिगत सुधारको आधार बन्ने विश्वास व्यक्त गर्दै उहाँले कार्यक्रम समापन गर्नुभएको थियो ।
मानव अधिकार एलायन्स नेपाल नवलपुरका अध्यक्ष दिपक शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव बुद्धि सागर पोखरेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस