
समाचार कुञ्ज तनहुँ । असोज १८
गत असोज १० गते परेको अविरल वर्षा र बाढीका कारण तनहुँको घिरिङ गाउँपालिका–४ करूवाटार मौतिघाट र नवलपुरको बौदिकाली गाउँपालिका–१ मचेडी जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेको छ । बाढीले पुलमा क्षति पु¥याएपछि अहिले सो बाटो भएर हुने आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ ।
पुल बिग्रिएपछि सबैभन्दा बढी मर्कामा स्थानीय विद्यार्थीहरू परेका छन् । करूवाटार र बटौलिटार क्षेत्रबाट नदी पारि अध्ययनका लागि जाने करिब १५ देखि २० जना विद्यार्थीहरू विद्यालय जान पाएका छैनन् । दैनिक पठनपाठनका लागि सोही पुलको प्रयोग गर्दै आएका बालबालिकाहरू बाटो बन्द भएपछि घरमै बस्न बाध्य भएका हुन् । ति विद्यार्थीहरु बौदीकाली गाउँपालिका वडा नम्बर १ को मचेडीको धर्मात्मा माविमा अध्ययन गर्छन् ।
नदीमा पानीको बहाव अझै उच्च रहेकाले जोखिम मोलेर तर्न सक्ने अवस्था छैन । जसका कारण स्थानीय बासिन्दा तथा दैनिक आवतजावत गर्ने पैदलयात्रीहरू समेत सास्ती व्यहोर्न बाध्य भएको घिरिङ गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष भिमबहादुर कुमालले बताए ।
पुल अवरुद्ध हुँदा बालबालिकाको भविष्य र पढाइमा प्रत्यक्ष असर परेको भन्दै स्थानीय बासिन्दाले यथाशीघ्र पुलको मर्मतसम्भार वा वैकल्पिक व्यवस्था मिलाइदिन सम्बन्धित पालिका तथा सरोकारवाला निकायसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस