आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

घिरिङ गाउँपालिका अध्यक्ष थापा द्वारा दुई कलबर्ट उद्घाटन


  • समाचार कुञ्ज
  • २०८२ जेष्ठ २३, शुक्रबार मा प्रकाशित १२ महिना अघि
  • ३८ पाठक संख्या
  • जेठ २२ अन्जान परियार घिरिङ, 
    घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाले गोफा खोलामा निर्मित दुई वटा कलबर्ट एकै दिन उद्घाटन गरेका छन्। बिहीबार आयोजित कार्यक्रममा भैरव मोटरमार्ग र राधाकृष्ण मोटरमार्ग अन्तर्गतका कलबर्टहरूको अध्यक्ष थापाले रिबन काटेर उद्घाटन गरेका हुन्।

    उक्त अवसरमा बोल्दै अध्यक्ष थापाले घिरिङ गाउँपालिकामा भौतिक पूर्वाधार निर्माणका काम भएता पनि केही तत्वहरूले निरन्तर आलोचना गर्दै आएको गुनासो गरे। उनले भने, “गाउँपालिकाले बाटो बनाउन सकेन भन्नेहरूलाई थाहा छ कि छैन, कृष्ण मोटरमार्ग हाल मुद्दा प्रक्रियामा छ।” उनका अनुसार उक्त मोटरमार्गको विषयमा आफैंले राजनीतिक दलका प्रतिनिधिहरू सहित उच्च अदालत देखि विभिन्न मन्त्रालय सम्म डेलिगेसन दिँदै आएका छन्। आफूले आश्वासन दिन मात्र नभई काम गरेर देखाउने शैली अपनाएको बताए। उनले हाल भित्री सडकहरूमा तीव्र गतिमा निर्माण कार्य भइरहेको जानकारी दिँदै आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत गाउँपालिकाका सबै क्षेत्र समेट्ने गरी सन्तुलित योजना ल्याउने प्रतिबद्धता समेत व्यक्त गरे।

    भैरव मोटरमार्गअन्तर्गतको कलबर्ट २७ लाख रुपैयाँमा र राधाकृष्ण मोटरमार्गअन्तर्गतको कलबर्ट २५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकालले जानकारी दिए।

    उद्घाटन कार्यक्रम गोफा खोलाको किनारमा सूबेदार मन बहादुर रानाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष राधा देवी अधिकारी, पूर्व अध्यक्ष रन बहादुर राना, वडा अध्यक्षहरू तहल सिं थापा, नर बहादुर थापा, तथा भिमाद नगरपालिका-४ का वडा अध्यक्ष रामकृष्ण रानाले बजेट अभावका बाबजुद पनि घिरिङ गाउँपालिकाले विकास निर्माणलाई प्राथमिकता दिइरहेको बताएका थिए।

    यस्तै नेकपा एमाले घिरिङ कमिटीका अध्यक्ष सुमन कुमार श्रेष्ठ,  माओवादी केन्द्रका चुन नारायण श्रेष्ठ र नेपाली कांग्रेसका भक्त बहादुर श्रेष्ठ, शिक्षक संगठन घिरिङका पूर्व उपाध्यक्ष सन्तमान श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए। सो कार्यक्रमको सञ्चालन नारायण थापाले गरेका थिए भने स्वागत मन्तव्य विष्णु थापाले गरेका थिए। कार्यक्रमलाई नौमती बाजाले उत्साह थपेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट