
समाचार कुञ्ज ज्ञानु पङेनी असार, २३ गते






नेपाल पत्रकार महासंघ,नवलपुरको आयोजना तथा हुप्सेकोट गाउँपालिकाको सहकार्यमा सुशासन प्रबद्र्धनका लागि जनप्रतिनिधि तथा कर्मचारीहरु लक्षित सुचनाको हक सम्बन्धी अभिमुखिकरण कार्यक्रम आज भएको छ ।
हुप्सेकोट गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दिपक आचार्य र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कोषाध्यक्ष रमेश बस्ताकोटीले सहजीकरण गर्नुभएको थियो । 
पारदर्शीता र सुशासन कायम गर्दै सेवा प्रवाह गर्नु स्थानीय सरकार र कर्मचारी , जनप्रतिनिधी सबैको कर्तव्य रहेको हुँदा सूचनाको हकका बारेमा सूसुचित हुनु आवश्यक रहेको भन्दै नागरिकले खोजेका के कस्ता सूचना उपलब्ध गराउने र के कस्ता सूचना दिन मिल्दैन त भन्ने बारेमा जानकारी प्रदान गर्नुभएको थियो । यस्तै सूचनाको हक सम्बन्धि नितिगत व्यवस्था कस्तो छ , कसरी सूचना मागिन्छ र कति समय भित्र सूचना उपलब्ध गराउनुनपर्ने प्रावधान छ त भन्ने बारेमा समेत प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सूचना प्रवाह र सञ्चार माध्यमको बलियो उपस्थितीले नै सरकारलाई सफल बन्न र सुशासन कायम राख्न मदत गर्ने कुरामा जोड दिनुभएको थियो । उहाँले कुनै पनि सञ्चार माध्यमले उठाएका समस्याहरुलाई सकारात्मक रुपले हेर्नुपर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पूर्णसिंह रानाले सूचनाको हक सम्बन्धि यसरी सूसुचित हुन पाउँदा आफूहरुले धेरै कुरा जान्ने बुझ्ने अवसर पाएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देलले स्थानीय सरकाका काम कारवाहीप्रति सजग र सचेत बनाउनका लागि पनि यस किसिमका कार्यक्रमले मदत पुग्ने धारणा राख्नुभयो ।
कार्यक्रममा हुप्सेकोट गाउँपालिकाका जनप्रतिनधिी , कर्मचारी तथा सञ्चारकर्मी र सरोकारवालाहरुको सभागिता रहेको थियो ।
नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देलको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सचिव आशिस रेग्मीले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस