
समाचार कुञ्ज बौदीकाली गाउँपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बौदीकाली गाउँपालिकाको आयोजनामा तथा जिल्ला सहकारी संघ, नवलपरासी (ब.सु.पू.) को समन्वयमा सम्पन्न कार्यक्रममा गाउँपालिकाभित्र रहेका अधिकांश सहकारी संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष तथा सचिवले विज्ञको रूपमा सहजीकरण गर्दै सहकारी सञ्चालन तथा व्यवस्थापनका सिद्धान्त, संस्थागत सुशासन, वित्तीय अनुशासन, लगानी परिचालन, ऋण प्रवाह तथा असुली व्यवस्थापन, बचत तथा लगानीको सुरक्षा, सदस्यहरूको भूमिका र दायित्व, सहकारीका चुनौती तथा समाधानका उपायहरूबारे विस्तृत जानकारी गराउनुभएको थियो।
त्यसैगरी सहकारी ऐन, नियमावली, सहकारीको कार्यक्षेत्र र सीमाहरू, नियामकीय व्यवस्था, प्रतिवेदन तथा लेखापरीक्षण, जोखिम व्यवस्थापन, संस्थाको दिगोपना तथा वर्तमान सहकारी क्षेत्रका अवसर र चुनौतीका विषयमा समेत सहभागीहरूबीच अन्तरक्रिया गरिएको थियो।
कार्यक्रमले सहकारी संस्थाहरूको संस्थागत क्षमता अभिवृद्धि, सुशासन प्रवर्द्धन तथा सदस्यप्रति उत्तरदायी र प्रभावकारी सेवा प्रवाहमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। सहभागीहरूले कार्यक्रमलाई अत्यन्त उपयोगी, व्यवहारिक तथा समयसापेक्ष भएको प्रतिक्रिया दिएका थिए। बौदीकाली गाउँपालिकाले आगामी दिनमा पनि सहकारी क्षेत्रको सुदृढीकरणका लागि यस्ता क्षमता विकासमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस