
समाचार कुञ्ज

निराज रानाभाट, गोरखा । गोरखाको पालुङटार नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ४ हजार ५ सय ८२ जना विद्यार्थीहरुलाई सामूहिक दुर्घटना बीमाको दायरामा ल्याउने उद्देश्यले पालुङ्टार नगरपालिका र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ ।
नगरपालिकाको कार्यालयमा सम्पन्न सम्झौतामा प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बि.सी. ले नगरपालिकाको तर्फबाट तथा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका प्रतिनिधिले कम्पनीको तर्फबाट हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत सबै ४ हजार ५ सय ८२ जना विद्यार्थीहरुको १ वर्षका लागि सामूहिक दुर्घटना बीमा गरिने छ । प्रत्येक विद्यार्थीहरुको ७० हजारसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध गराइने छ, भने प्रति विद्यार्थीहरुलाई १ सय ५ बीमा शुल्क र २० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ । सम्झौतामा बीमा दाबीका लागि आवश्यक कागजात, दुर्घटना वा उपचारसम्बन्धी प्रमाण, मृत्यु भएमा मृत्यु दर्ता प्रमाण-पत्रलगायत आवश्यक कागजातका आधारमा प्रचलित कानुन र बीमा कम्पनीका नियमअनुसार दाबी भुक्तानी गरिने व्यवस्था गरिएको छ ।
नगरपालिकाले विद्यार्थीहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरुलाई दुर्घटनाबाट हुन सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ । यस कार्यक्रमबाट दुर्घटनामा परेका विद्यार्थीहरु तथा उनका परिवारहरुलाई आवश्यक आर्थिक सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस