आज: २०८३ श्रावण ३, आईतबार | Sun, 19, Jul, 2026

उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यालय, शिक्षक, विद्यार्थी र प्रधानाध्यापकलाई भिमाद नगरपालिकाको सम्मान


  • समाचार कुञ्ज
  • २०८३ अषाढ १७, बुधबार मा प्रकाशित २ हफ्ता अघि
  • ३१ पाठक संख्या
  • तनहुँ भिमाद -असार १७ — भिमाद नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रम बुधबार भिमाद नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।

    ghiring

    ghiring

    कार्यक्रममा भिमाद नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको शैक्षिक सत्र २०८१/०८२ को उत्कृष्ट नतिजाका आधारमा माध्यमिक शिक्षा परीक्षा (एसईई), कक्षा ८ र कक्षा ५ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक तथा विद्यार्थीलाई सम्मान गरिएको थियो। साथै शैक्षिक सामग्री प्रदर्शनी मेला–२०८२ मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय तथा विषयगत शिक्षक समूहलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। त्यसैगरी, कार्यसम्पादन सम्झौताअनुसार उत्कृष्ट कार्यसम्पादन गर्दै उच्च नतिजा हासिल गर्ने प्रधानाध्यापकहरू लाई पनि सम्मान गरिएको थियो।

    कार्यक्रम भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीको प्रमुख आतिथ्यता, उपप्रमुख शारदा खनालको विशिष्ट आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत शोभाखर पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो।

    कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाका कर्मचारी, जनप्रतिनिधि, नगर शिक्षा समितिका पदाधिकारी, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षक महासङ्घका अध्यक्ष सुरज लम्साल, सामाजिक विकास समिति तथा शिक्षा समिति सदस्य पदमराज सेन ठकुरी,क्स्गोपाल पराजुली तथा भिमाद नगरपालिका शिक्षा शाखाका उपसचिव सन्दीप पौडेलले उत्कृष्ट नतिजा हासिल गरी सम्मानित भएका विद्यालय, शिक्षक तथा विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरे। उनीहरूले सामुदायिक र संस्थागत विद्यालयबीच सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाउन सके शिक्षा क्षेत्र थप सुदृढ हुने धारणा राखे। साथै भीमाद नगरपालिका तनहुँ जिल्लामै करिब ७५ प्रतिशत शैक्षिक उपलब्धिसहित अग्रपङ्क्तिमा रहन सफल भएको उल्लेख गर्दै यो उपलब्धि शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय तह तथा नगर शिक्षा समितिको साझा प्रयासबाट सम्भव भएको बताए। नगर शिक्षा शाखा आगामी दिनमा पनि विद्यालयहरूको गुणस्तर अभिवृद्धिका लागि आवश्यक सहयोग, समन्वय र सहजीकरणमा निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरिएको थियो।

    शुभकामना मन्तव्य राख्दै उपप्रमुख शारदा खनालले पालिकासँग स्रोत–साधन सीमित भए पनि विद्यालयहरूको भौतिक पूर्वाधार विकासमा नगरपालिका प्रतिबद्ध रहेको बताइन्। उनले शैक्षिक गुणस्तर सुधारका लागि सबै पक्षले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिइन्।

    त्यस्तै नगर प्रमुख दधिराज सुवेदीले विद्यालय, शिक्षक तथा विद्यार्थीका समस्या सुन्न र समाधानका लागि नगरपालिका सधैँ तत्पर रहेको बताए। उनले समाजमा रहेका नकारात्मक गतिविधिलाई बेवास्ता गर्दै सकारात्मक सोचका साथ निरन्तर अगाडि बढ्न प्रधानाध्यापक तथा विषयगत शिक्षकहरूलाई आग्रह गरे। शिक्षा क्षेत्रको समग्र विकासका लागि नगरपालिका सदैव साथमा रहने उनको भनाइ थियो।

    कार्यक्रमको समापन गर्दै प्रमुख प्रशासकीय अधिकृत शोभाखर पोखरेलले सम्मान तथा पुरस्कारले पुरस्कृत शिक्षक, विद्यार्थी र प्रधानाध्यापकको जिम्मेवारी अझ बढाएको बताए। उनले पुरस्कृत विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै अभिभावकलाई आफ्ना बालबालिकाको गतिविधि, सङ्गत र रुचिप्रति निरन्तर चासो, निगरानी र मार्गदर्शन गर्न आग्रह गरे। साथै वर्तमान समयको आवश्यकता अनुरूप शिक्षकहरूले आफ्नो ज्ञान, सीप र शिक्षण क्षमतालाई निरन्तर अभिवृद्धि गर्दै गुणस्तरीय शिक्षालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे।

    कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक, विद्यार्थी तथा प्रधानाध्यापकहरूलाई सम्मान गर्दै भिमाद नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, स्वस्थ प्रतिस्पर्धा र उत्कृष्ट कार्यसम्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट