
समाचार कुञ्ज नवलपुर । कावासोती नगरको नीति र कार्यक्रममा बालबालिकाका सवालहरु समेटन ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको छ । कावासोती नगरपालिकामा जागृती बाल तथा युवा सरोकार नेपालले संचालन गरेको किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गतका दिक्षित साथी शिक्षकहरुद्वारा आगामी बर्ष ०८३/०८४ को नीति र कार्यक्रम साथै बजेटमा बालबालिकाका सवालहरु समेटन १६ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नुभएको हो ।

किशोरी अभियन्ताहरु आशिका पोख्रेल, इच्छा गुरुङ र हरिकला गुरुङले स्थानीय तहको आर्थिक वर्ष ०८३/०८४ को नीति कार्यक्रम तथा बजेटमा बालबालिका तथा किशोरकिशोरीहरुको सवालहरू समावेश गर्नको लागि सुझावहरु हस्तान्तरण गर्नुभएको हो ।हस्तान्तरण गरिएको सुझावहरुमा निम्न बुँदाहरु रहेको छ ।
१. बालबालिका सम्बन्धी स्थानीयस्तरको घरधुरी सर्वेक्षण तथा जानकारीको उचित आधार निर्माणका साथै बाल विवाह सम्बन्धि कडा कानुनी कारवाही गर्ने र बालबालिका तथा अभिभावकहरूलाई छुट्टाछुट्टै तरिकाले विशेष कार्यक्रम र अभियान संचालन गरियोस् ।
२. किशोरीहरुका समस्या र सवालहरु सुनुवाइको लागि वडा र विद्यालयमा छुट्टै डेस्क र बालमैत्री सम्पर्क व्यक्ति, वडास्तरमा बाल क्लब, युवाक्लवहरुको नेतृत्वमा सम्पन्न भएका बालमैत्री कार्यहरुको तथ्यांकहरु सहित बालमैत्री वडा घोषणा कार्यलाई तिब्र रुपमा अगाडि बढाइयोस् ।
३. किशोरकिशोरीहरूलाई आत्मरक्षा तालिम, अनलाईन सुरक्षा, मानसिक स्वास्थ्य, राम्रो छुवाई र नराम्रो छुवाई, महिनावारी स्वच्छताको बारेमा सिकाउने वातावरण तथा कार्यक्रम ल्याइयोस् ।
४. प्रत्येक विद्यालय र सार्वजनिक स्थलहरूमा गुणस्तरीय पिउने पानी, गुणस्तरीय प्याड र किशोरी मैत्री शौचालयको व्यवस्था लगायत बालमैत्री वातावरण सिर्जनाका लागि निरन्तर पहल गरियोस् ।
५. गरिब, अपाङ्गता, अशक्त, अल्पसंख्यक कमजोर भएका बालबालिकाहरूको शिक्षामा विशेष प्राथमिकता दिइयोस र नियमित छात्रवृत्तिको व्यवस्था गरियोस् ।
६. वडा र प्रत्येक विद्यालयमा बालबालिकाहरूको सल्लाह प्राथमिकतामा राख्दै सुझाव पेटिकाको व्यवस्था गरियोस् ।
७. बालिकाहरुलाई खेलकुदमा समान अवसरका साथै खेल सामग्री तथा खेल विकासका लागि विभिन्न खेलकुदका साथै विभिन्न सिर्जनात्मक र रचनात्मक खालको कार्यक्रमहरु संचालन गरियोस् ।
८. नीति तथा निर्णय प्रक्रिया र योजना सुनुवाइ गर्दा समुदाय स्तरबाटै बालभेला गरी बालभेलाबाट आएका सुझावहरूलाई नीति कार्यक्रम र बजेटमा समावेश गरियोस् ।
९. बालबालिका तथा किशोरी मैत्री नीति निर्माणका लागि स्थायी संयन्त्र तथा वडा समितिलाई सक्रिय गरि प्रभावकारी रुपमा कार्यान्वयन गरियोस् ।
१०. किशोरकिशोरीहरु लागुपदार्थको दुव्र्यसनको विशेष जोखिममा रहेकोले विद्यालय हाता वरिपरिबाट संभावित यस्ता समस्या हटाउन लागि विभिन्न सचेतनामुलक कार्यक्रमहरुको आयोजना गरियोस् ।
११. विद्यालय शिक्षालाई पूर्ण रुपमा निशुल्क र सिपमुलक तथा प्राविधिक शिक्षाको सुनिश्चित गर्दै पाठ्यपुस्तकहरुमा बालबालिका र किशोरकिशोरीको लागि आवश्यक सम्पूर्ण विषयहरू समावेश गरी पठनपाठन गर्ने वातावरण निर्माणको लागि पहल गरियोस् ।
१२. बाल पोषण र विद्यालयमा उपलब्ध हुने दिवा खाजा कक्षा ५ सम्म मात्र रहेकोले कक्षा १० सम्मका सवै बालबालिकाहरुको पाउने गरी व्यवस्थाका लागि पालिका सरकारले आवश्यक स्रोतका लागि संघ सरकारसँग प्रभावकारी सञ्चालनको लागि पहल गरियोस् ।
१३. बालिका तथा किशोरीहरूको न्यायमा पहुँचको सुनिश्चितताका लागि र विपद् आईपर्दा बालिका तथा किशोरीमाथि हिंसा, दुव्र्यवहार हुन सक्ने भएकाले सुरक्षित आश्रयको व्यवस्था, र अन्य अपराधका घटनाको अनुसन्धान र न्यायिक प्रकृयाको लागि छिटो र निष्पक्ष कार्यान्वयन हुने संयन्त्रको व्यवस्थाको लागि पहल गरियोस् ।
१४. बालमैत्री, पोषणमैत्री, युवामैत्री, जलवायु मैत्री, वातावरण मैत्री, लैङ्गिक मैत्री स्थानीय शासन प्रवद्र्धनका लागि बालबालिका, युवा र किशोरकिशारीहरुको अर्थपुर्ण सहभागिता सहित विभिन्न कार्यक्रमहरू तय गरियोस् ।
१५. बालबालिका र किशोरकिशोरीहरु लक्षित भएका कार्यक्रमहरुको प्रभावकारिताको मुल्यांकनको लागि नियमित अनुगमनको व्यवस्था गरियोस् ।
१६. किशोरीका लागि हाम्रो नवलपुरको स्थानीय तहहरुसँगकोे समन्वयमा जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालनसँगको साझेदारीमा देवचुली वडा नं. १० मा बालिका सिकाई तथा स्रोत केन्द्र स्थापना भइ रहेको खुसीको कुराको जानकारी यहाँलाई अवगत नै छ । सो सिकाई केन्द्रको यहाँले नियमित भ्रमण गर्नु हुन अनुरोध गर्दै सो केन्द्रको सञ्चालन र निर्माण सम्पन्न गर्ने कार्यमा आफ्नो महत्वपूर्ण सुझाव सहित पालिकाबाट आवश्यक सहयोगका लागि पहल गरियोस् ।
प्रतिक्रिया दिनुहोस