आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

ब्याक टु लाइफको सहयोगमा गोलन्जोरका बालबालिकालाई शैक्षिक सामग्री प्रदान


  • समाचार कुञ्ज
  • २०८१ पौष ६, शनिबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • गोलन्जोर गाउँपालिका, सिन्धुली – ब्याक टु लाइफ ई भी जर्मनीको आर्थिक सहयोग र सिएसडिएस सिन्धुलीको साझेदारीमा गोलन्जोर गाउँपालिका वार्ड नम्बर ४ आरुबोटेस्थित श्री प्राथमिक विद्यालय ट्वाङ्ट्वाङे र वार्ड नम्बर ३ मुर्किबेसीस्थित कुशेश्वरी प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई न्यानो कपडा (ज्याकेट र टोपी) तथा शैक्षिक सामग्री (कापी, कलम आदि) वितरण गरिएको छ। कार्यक्रममा पालिका अध्यक्ष शंकरराज बराल र सम्बन्धित वडाका अध्यक्षहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रममा ब्याक टु लाइफका डिकेन्द्र ढकालले शिक्षाको लागि आवश्यक आधारभूत स्रोत-साधनले बालबालिकाको सिकाइमा पार्ने महत्त्वपूर्ण प्रभावबारे चर्चा गरे। साथै, उनले गोलन्जोर गाउँपालिकामा ब्याक टु लाइफले सञ्चालन गरिरहेका र निकट भविष्यमा सञ्चालन हुने विभिन्न योजनाहरूको जानकारी पनि प्रस्तुत गरे।

    गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले कार्यक्रमलाई सम्बोधन गर्दै ब्याक टु लाइफले सञ्चालन गरिरहेको खानेपानी योजना, पालिका स्तरीय अस्पताल, स्वास्थ्य चौकी, र विद्यालय भवन निर्माणको प्रयासप्रति आभार व्यक्त गरे। उनले सम्पूर्ण गोलन्जोरवासी समुदायको तर्फबाट दातृ संस्था ब्याक टु लाइफ र साझेदार संस्था सिएसडिएसलाई धन्यवाद व्यक्त गरे।

    वार्ड नम्बर ३ का अध्यक्ष कृष्णप्रसाद पोखरेलले ब्याक टु लाइफको पहलले गाउँपालिकाको स्वास्थ्य, शिक्षा, र खानेपानीका क्षेत्रमा ठूलो योगदान पुर्‍याएको उल्लेख गरे। उनले निर्माण भएका संरचनाहरूको उचित संरक्षण र व्यवस्थापनमा सबै सरोकारवालाहरूले एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, बालबालिकालाई नियमित विद्यालयमा उपस्थित गराउन अभिभावकहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

    ब्याक टु लाइफ ई भी जर्मनीकै आर्थिक सहयोगमा दुबै विद्यालय (श्री प्राथमिक विद्यालय ट्वाङ्ट्वाङे र कुशेश्वरी प्राथमिक विद्यालय मुर्किबेसी) मा चार कोठे पक्की शैक्षिक भवन निर्माण भइरहेको छ। स्थानीय साझेदार संस्था सिएसडिएसका अनुसार आगामी शैक्षिक सत्रदेखि यी भवनहरूबाट पठनपाठन सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

    कार्यक्रमले गोलन्जोर गाउँपालिकाको शैक्षिक र सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट