
समाचार कुञ्ज भविष्य निर्माणका लागि सात सूत्रीय कार्यदिशा तय
नवलपुर — "युवाले सोच बदले देश बदलिन्छ" भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै साबिक पिठौलीमा एक विशेष युवा मन्थन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको नेतृत्व समिर लामिछानेले गरेका थिए। मन्थनको उद्देश्य युवा पुस्तालाई सशक्त बनाउँदै उनीहरूलाई उद्धमशीलताको दिशामा प्रेरित गर्नु थियो। सहभागिता, समर्पण र सिर्जनशील विचारले भरिएको यस छलफलमा युवाहरूले आफ्नो अनुभव, समस्या र सम्भावनाका विविध आयामहरू प्रस्तुत गरे।
कार्यक्रममा निम्न सात महत्वपूर्ण विषयहरूमा सहमति बनाइयो, जुन आगामी दिनहरूमा कार्यान्वयनका लागि आधार बन्ने अपेक्षा गरिएको छ:
१. शिक्षा प्रणालीमा सुधार, शिक्षा र सिपको सन्तुलन:
हालको शिक्षाले केवल किताबी ज्ञानमा सीमित भएर व्यावहारिक जीवनमा उपयोगी हुन नसकेको भन्ने धारणा कार्यक्रमभरि व्यक्त भयो। त्यसैले सैद्धान्तिक र प्राविधिक ज्ञानको समन्वय गरी शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउने प्रस्ताव अगाडि सारियो।
२. प्राविधिक सहयोग र संचालन व्यवस्थापन:
स्थानीय स्तरमा प्रविधिको प्रयोग र दक्ष जनशक्तिको कमीले नविन प्रयासमा अवरोध आउँदा, यस्ता प्रयासलाई प्राविधिक सहयोग र व्यवस्थापनमार्फत सहज बनाउने कुरामा जोड दिइयो।
३. उद्धमशीलताको शिक्षा बाल्यकालदेखि:
युवाको सोचाइ परिवर्तन गर्न बाल्यकालदेखि नै उद्धमशीलताको शिक्षा आवश्यक रहेको धारणा बनाइयो। विद्यालयहरूमा नै उद्धमशीलताको आधारभूत ज्ञान दिने व्यवस्था मिलाउनुपर्ने कुरा उठाइएको थियो।
४. सुरक्षा र सहज पुँजी व्यवस्थापन:
कसैलाई पनि नयाँ उद्धम सुरु गर्दा लगानी, जोखिम तथा कानुनी सुरक्षा प्रमुख चुनौती हुन्छन्। त्यसैले युवाहरूलाई सुरक्षित वातावरण र सहज पुँजी पहुँच हुने वातावरण तयार गर्नु आवश्यक छ भन्ने सहमति बन्यो।
५. कृषि क्षेत्रलाई प्राथमिकता:
नेपालको समृद्धिको मूल आधार कृषि हो भन्ने निष्कर्षमा पुग्दै, कृषि क्षेत्रमा नयाँ प्रविधिको प्रयोग र व्यावसायिक दृष्टिकोणबाट उद्धमशीलता विकास गर्नुपर्नेमा जोड दिइयो।
६. स्थानीय हाटबजार सञ्चालन:
स्थानीय उत्पादनको प्रवर्द्धन र बजार पहुँचका लागि हाटबजार सञ्चालनलाई प्रभावकारी बनाउने, प्रत्येक बस्तीमा उत्पादन बेच्ने ठाउँ बनाउने सोच प्रस्तुत गरियो।
७. पैचो पसलको अभ्यास:
सामुदायिक सहकार्यलाई मजबुत बनाउन "पैचो पसल" अर्थात आवश्यक सामग्री सापटीमा प्रदान गर्ने सहकारी प्रवृत्तिको थालनी गर्न सकिने सुझाब अघि सारियो, जसले आपसी विश्वास, सहयोग र आर्थिक चक्रलाई सबल बनाउने विश्वास व्यक्त गरियो।
निरन्तर संवादको निर्णय:
यस्ता मन्थनलाई केवल एक कार्यक्रममा सीमित नराखी निरन्तर प्रक्रिया बनाउने निर्णयसहित, अबदेखि प्रत्येक महिनाको एक दिन यस्तै छलफल बस्ने र कार्यान्वयनको प्रगति मूल्याङ्कन गर्ने सहमति भयो।
कार्यक्रममा युवा उत्साह, सामाजिक उत्तरदायित्व र सामूहिक सोचको अभूतपूर्व झल्को देखिएको थियो। सहभागिहरूले मन्थनका निष्कर्षहरू व्यवहारमा उतार्न प्रतिवद्धता जनाए।
नेतृत्वकर्ता समिर लामिछानेले भने, "हामी युवाहरूले कुरा गरेर मात्र होइन, काम गरेर देखाउने समय आएको छ। यो मन्थनबाट उठेका विचारहरूलाई अब व्यवहारमा रूपान्तरण गर्न लागिपर्नेछौं।"
याे कार्यक्रम प्रतेक महिनामा एक पटक गरिने आयाेजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस