आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

भिमाद नगरपालिकामा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपान घोषणा कार्यक्रम’ सम्पन्न


  • समाचार कुञ्ज
  • २०८२ जेष्ठ १४, बुधबार मा प्रकाशित ९ महिना अघि
  • ८ पाठक संख्या
  • भिमाद ,जेठ १४
    अस्मिता क्षेत्री 
    भिमाद नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपान पालिका’ घोषणा गरिएको छ। बुधबार नगर प्रमुख दधिराज सुवेदीको अध्यक्षता र जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको प्रमुख आतिथ्यतामा आयोजित विशेष समारोहमार्फत घोषणा गरिएको हो।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वाग्लेले स्वास्थ्यजस्तो मौलिक हकसँग सम्बन्धित विषयमा स्थानीय तहको सक्रियता आवश्यक रहेको उल्लेख गर्दै, खोप कार्यक्रमजस्ता प्रयासहरूले समग्र मातृ र शिशु स्वास्थ्य सुधारमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

    भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले पालिका भित्र खोप सेवा चुस्त-दुरुस्त रूपमा सञ्चालन गर्न प्रशासन सधैं तत्पर रहेको बताए।
    प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीले दिगोपान घोषणाले मातृ तथा शिशु मृत्युदर घटाउन सहयोग पुग्ने भन्दै खोप अभियानसँगै पोषण र स्वास्थ्य शिक्षामा पनि विशेष ध्यान दिनुपर्ने बताए।

    वडा नं. ६ का अध्यक्ष श्यामसुन्दर जोसी, नेपाली कांग्रेसका प्रतिनिधि आनन्द देव श्रेष्ठ लगायतले खोप अभियान सफल बनाउन स्वास्थ्य स्वयंसेविकाहरूको अतुलनीय योगदान रहेको उल्लेख गरे। उनीहरूले विशेष गरी महिलाहरूको स्वास्थ्यप्रति सचेत रहनु आवश्यक रहेकोमा जोड दिए।

    स्वास्थ्य शाखा प्रमुख सुनिता घरेलले कार्यक्रमको प्रारम्भमा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै हालसम्म १५ देखि २३ महिनासम्मका ३३१ जना बालबालिकाले पूर्ण खोप पाएको जानकारी दिइन्। साथै, खोप कवरेज, मातृ तथा शिशु स्वास्थ्य सुधारका प्रयासहरूबारे समेत विवरण प्रस्तुत गरिन्।

    कार्यक्रमको समापन गर्दै नगर प्रमुख दधिराज सुवेदीले “पूर्ण खोप पालिका घोषणाले भिमाद नगरपालिका स्वास्थ्य सुरक्षाको नयाँ चरणमा प्रवेश गरेको छ,” भन्दै यस उपलब्धिमा सबै वडाका प्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेविका र समुदायको योगदान उल्लेखनीय रहेको बताए। उनले आगामी दिनमा यस उपलब्धिलाई दीगो बनाउँदै अझ प्रभावकारी स्वास्थ्य सेवाको विस्तार गर्नु नगरपालिका स्तरको प्राथमिकता हुने बताए।

    कार्यक्रममा सहभागी सबै वडाका स्वास्थ्यकर्मीलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै, स्वास्थ्य स्वयंसेविकाहरूले प्रस्तुत गरेको सांस्कृतिक नृत्यले कार्यक्रमलाई थप उत्साहजनक बनाएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट