
समाचार कुञ्ज दमौली (तनहुँ) । तनहुँको म्याग्दे गाउँपालिकाले एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा वितरण गरेको छ । गाउँपालिकाभित्रका एकल महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित गाउँपालिकाले बाख्रा वितरण गरेको हो ।गाउँपालिकाभित्रका सात वटा वडाका चाररचार एकल महिला छनोट गरी प्रत्येकलाई एकरएक वटाका दरले बाख्रा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाभित्र एकल महिलाको सङ्ख्या चार सय ५२ जना रहेकामा निम्न आय भएका २८ जना महिला छनोट गरी बाख्रा वितरण गरिएको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “एकल महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित बाख्रापालनतर्फ प्रोत्साहन गरेका हौँ । यसले उहाँहरूलाई आत्मनिर्भर बन्न सहयोग पुग्नेछ ।” बाख्रा खरिदका लागि पालिकाले प्रति महिला रू १२ हजार सहयोग गरेको अधिकारीले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एकल महिलालाई बाख्रा वितरणका लागि पालिकाले रू तीन लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । उहाँले एकल महिलालाई आर्थिक रूपमा सशक्त बनाउन र जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यसहित बाख्रा वितरण गरिएको बताउनुभयो ।
एकल महिला सिर्जना विकले पालिकाले अनुदानमा बाख्रा वितरण गरेकाले बाख्रापालनतर्फ आत्मनिर्भर बन्ने प्रयास गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यसले बाख्रापालनतर्फ अगाडि बढ्न प्रोत्साहित गरेको छ ।” रासस

प्रतिक्रिया दिनुहोस