
समाचार कुञ्ज तिर्थराज काफ्ले कावासाेती
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको कावासोती नगरपालिका–१७, अमलटारीमा गैंडाको आक्रमणबाट एक जना व्यक्ति घाइते भएका छन्।
आज दिउँसो ४० वर्षका हेम बहादुर कुमाल घर नजिकै घाँस काट्ने क्रममा अचानक गैंडाले आक्रमण गर्दा घाइते भएका हुन्। आक्रमणपछि उनलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा ल्याइएको छ। अस्पतालका अनुसार कुमालको शरीरमा बाहिरी गम्भीर चोट देखिएको छैन र हाल अवस्था सामान्य रहेको छ।
यसअघि केही दिन अघि मात्रै नवलपुरको कावासोती नगरपालिका–१५ स्थित गुन्द्रेही ढकाहा मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पनि वन्यजन्तुको आक्रमणका छुट्टाछुट्टै घटनाहरू भएका थिए। उक्त क्षेत्रमा दाउरा लिन गएका हुप्सेकोट गाउँपालिका–२ स्थायी घर भई हाल कावासोती–१५ गोडारमा बसोबास गर्दै आएका २८ वर्षीय भुवन सिंह सुनारी मगर भालुको आक्रमणमा परी घाइते भएका थिए। भालुको आक्रमणबाट उनको टाउको र कम्मरमा चोट लागेको थियो ।
त्यस्तै, सोही क्षेत्रको शेरगन्जमा घाँस काट्न गएका ३७ वर्षीय मुकुन्द अधिकारी पनि बाघको आक्रमणमा परी घाइते भएका थिए। बाघको आक्रमणबाट अधिकारीको बायाँ हातको कुहिनामा चोट लागेको थियो। उपचारपछि उनको अवस्था सामान्य रहेको जनाइएको छ।
एस्ता घटना लगातार बढिरहेका यस्ता घटनाले मध्यवर्ती क्षेत्रका बासिन्दाको सुरक्षा चिन्ता थपिएको छ। तर स्थानीयवासीले चुनाव नजिकिँदै जाँदा वन्यजन्तु–मानव द्वन्द्व, क्षतिपूर्ति र स्थायी समाधानका विषयहरू नेताहरूका लागि भोट माग्ने बेला मात्रै चर्चामा आउने गरेको गुनासो गरेका छन्। चुनाव सकिएपछि भने यी क्षेत्रका समस्या पुनः ओझेलमा पर्ने गरेको उनीहरूको भनाइ छ।
मध्यवर्ती तथा वन क्षेत्र आसपास मानवीय गतिविधि बढ्दै जाँदा पछिल्ला दिनहरूमा वन्यजन्तु–मानव द्वन्द्वका घटना लगातार बढ्दै गएका छन्। सम्बन्धित निकायले वन क्षेत्रमा प्रवेश गर्दा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।photo AI

प्रतिक्रिया दिनुहोस