
समाचार कुञ्ज जेष्ठ ७, भिमाद
संचारकर्मी एवम् समाजसेवी शालिकराम गहतराजले भिमाद नगरपालिका वडा नं ७ स्थित जय नेपाल आधारभूत विद्यालयमा अध्ययनरत ८२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् । सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच आफ्नी आमा स्व.कृष्ण मायाँ विकको स्मृतिमा विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई २५ हजार रुपैयाँ बराबरको कपी,कलम लगायत अन्य स्टेशनरी सामग्री वितरण गरेको विद्यालयका प्रधानाध्यापक बुद्दी बहादुर भुजेलले बताएका छन् ।
लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रही विभिन्न व्यक्तिहरुलाई सहयोग गर्दै आएका गहतराजले विद्यालयमा अध्ययनरत गरिव तथा विपन्न परिवारका विद्यार्थीहरुलाई पठनपाठन गर्न सहज होस भनि सहयोग गरेको बताएका छन् । उनले भने ", हामीले जिन्दगीमा जतिसुकै धन आर्जन गरौं यदि त्यो धन सामाजिक कार्यमा खर्चिएनौ भने त्यसले सार्थकता पाउन सक्दैन " ।
गहतराजले पछिल्लो समय सामुदायीक विद्यालयमा विद्यार्थीहरूको संख्यामा गिरावट आएकाले यसलाई सन्तुलन गर्नका लागि शिक्षक,अभिभावक र सरोकारवाला निकाय जिम्मेवार हुनुपर्ने बताएका थिए । गहतराज आफू स्वयं जय नेपाल आधारभूत विद्यालयको भूपू विद्यार्थी रहेको बताउँदै भूपू विद्यार्थीहरुलाई आफ्नो ठाउँबाट सहयोग गरी विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न मद्दत गर्न आग्रह गरेका थिए ।
विद्यालयका विव्यस अध्यक्ष नवराज सुवेदीले सहयोग सामग्रीले विद्यालयमा अध्ययन गर्दै आएका गरिव , विपन्न र दलित विद्यार्थीहरुलाई ठूलो राहत भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस