
समाचार कुञ्ज नवलपुर। जिल्लाको पहाडी क्षेत्रमा पर्ने बौदीकाली गाउँपालिकामा विपन्न परिवारलाई आयआर्जनसँग जोड्न भैँसीको पाडी अनुदानमा वितरण गरिएको छ । गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर –२, का वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठका अनुसार विपन्न परिचयपत्र प्राप्त गरेका डेढगाउँका १५ परिवारलाई भैँसीको पाडी वितरण गरिएको हो ।
आर्थिक अवस्था कमजोर भएका परिवारलाई वडाबाटै विनियोजित रु. ४ लाख ५० हजार बजेटबाट पशुपालनका लागि पाडी वितरण गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । ९० प्रतिशत अनुदानमा पाडी वितरण गरिएको उहाँले जानकारी दिनुभयो । पहाडी क्षेत्रमा आम्दानीका स्रोत वृद्धि गर्न पशुपालनलाई प्रोत्साहन गर्दै लगिएको उहाँले बताउनुभयो । गत वर्ष पनि पाडी तथा बंगुर अनुदानमा वितरण गरिएको उहाँले स्मरण गराउनुभयो । यस वर्ष पनि पाडी तथा केही परिवारलाई बाख्रा समेत वितरण गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । केही दिनभित्र ९० वटा बंगुरका बच्चा वितरणको तयारी गरिएको समेत उहाँले जानकारी दिनुभयो ।
पशुपालनतर्फ स्थानीयलाई आकर्षित गर्दै आयआर्जनसँग जोड्नका लागि पालिका स्तरमा समेत यस्ता कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढाइएको गाउँपालिका प्रवक्ता एवं वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । “हामीकहाँ आयआर्जनका स्रोत कम छन् । यसलाई विस्तार गर्दै लैजाने योजनाअनुसार पशुपालनलाई समेत जोड दिँदै आएका छौँ । गत वर्ष बंगुर वितरण गरेकाले मासु उत्पादन राम्रो भयो, स्थानीयले आम्दानी समेत राम्रो गरे । त्यसैले यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएका छौँ,” श्रेष्ठले भन्नुभयो ।
गाउँपालिकाले दुग्ध उत्पादनलाई समेत प्राथमिकतामा राखेर कार्य गरिरहेको छ । जसअनुसार पशुपालन विस्तार गर्न इच्छुक कृषकका लागि सहुलियत कृषि ऋणको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । स्थानीय वित्तीय संस्थासँगको समन्वयमा गाउँपालिकाले ९० प्रतिशत ब्याज व्यहोर्ने गरी ऋण कार्यक्रम सञ्चालन गरेको अध्यक्ष ओझाले बताउनुभयो ।दुग्ध उत्पादनमा समेत पालिकाले अनुदान उपलब्ध गराउँदै आएको अध्यक्ष ओझाले बताउनुभयो । अकला दुग्ध उत्पादक कृषि सहकारी संस्था लिमिटेडसँग सहकार्य गरेर उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । जसअनुसार प्रति लिटर दूधमा रु. ७ दशमलव ५० पैसा प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको अध्यक्ष ओझाले जानकारी दिनुभयो । यस्तै दूध सङ्कलन तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन सहकारी संस्थालाई प्रतिलिटर रु. २ दशमलव ५० पैसा सहयोग उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो ।
कालीगण्डकी करिडोर निर्माण भएपछि यातायातको पहुँच वृद्धि भएकाले पशुपालन गरी पशुजन्य उत्पादन बढाउन सके सहजै बजार पु¥याउन सकिने हुँदा यसलाई प्राथमिकता दिइएको अध्यक्ष ओझाले बताउनुभयो । “अहिले बाटोको सुविधा भएको छ । सजिलै नजिकका ठूला बजारमा यहाँ उत्पादन गरिएका वस्तु पु¥याउन सकिन्छ । यसकारण कृषि र पशुपालनलाई जोड दिँदै उत्पादन बढाउने योजनामा लागेका छौँ । यसले यहाँका स्थानीयको आर्थिक अवस्था सुधारमा समेत सहयोग पुग्ने विश्वास छ,” अध्यक्ष ओझाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस