
समाचार कुञ्ज तनहुँको घिरिङ गाउँपालिकाले सामुदायिक विद्यालयमा शैक्षिक तथ्यांक व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (ईमिस) मा आधारित क्षमता विकास तालिम सञ्चालन गरेको छ।
गाउँपालिकाको सभाहलमा असार २० र २१ गते सञ्चालन तालिममा घिरिङ गाउँपालिका भित्र रहेका ३६ वटा सामुदायिक विद्यालयका ईमिस हेर्ने शिक्षक तथा कर्मचारी सहभागी छन्। तालिममार्फत विद्यालयस्तरमा शैक्षिक तथ्यांक प्रविष्टि, अद्यावधिक, व्यवस्थापन तथा ईमिस प्रणालीको प्रभावकारी प्रयोगसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गरिने जनाइएको छ।
तालिमको सहजीकरण शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख कृष्ण प्रसाद सुवेदी तथा सहायक अधिकृत पुष्पा थापा क्षेत्रीले गरिरहेका छन्। उनीहरूले ईमिस प्रणालीको प्रयोग, तथ्यांकको शुद्धता, समयमै विवरण अद्यावधिक गर्ने प्रक्रिया तथा विद्यालय व्यवस्थापनमा प्रणालीको उपयोगबारे सहभागीलाई प्रशिक्षण दिइरहेका छन्।
गाउँपालिकाका अनुसार विद्यालयको शैक्षिक तथ्यांकलाई विश्वसनीय, अद्यावधिक र प्रविधिमैत्री बनाउँदै शिक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो। तालिमबाट सहभागी शिक्षक तथा कर्मचारीले विद्यालयमा ईमिस प्रणालीको प्रयोगलाई थप प्रभावकारी बनाउन आवश्यक ज्ञान र सीप हासिल गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस