
समाचार कुञ्ज प्रिय धन , १२ कार्तिक २०८१ ।
क्रस बोर्डर नेपाल संस्थाले विद्याज्योति आधारभूत विद्यालय गैंडाखोलालाई सोमबार विभिन्न सहयोग गरेको छ । विद्यालयलाई बिजुली वायरिंग , स्पीकर , टेलिभिजन लगायतका सामाग्रीको आवश्यक्तालाई ध्यानमा राखी सहयोग गरिएको क्रस बोर्डर नेपालका अध्यक्ष भरत प्रसाद वस्तीले बताउनुभयो ।
हुप्सेकोट गाउँपालिका २ मा रहेको विद्याज्योति आधारभूत विद्यालयमा अहिलेको अवस्थामा पनि विद्युत जड़ान नभएको , प्रार्थना समयका लागि एउटा स्पीकर समेत नभएको अवस्थामा विद्यालयलाई यी सामाग्रीको आवश्यक्ता महसुस गरी स्पीकर बक्स तथा टेलिभिजन प्रदान गरिएको अध्यक्ष वस्तीले बताउनुभयो । विद्यालयको ६ वटा कोठामा बिजुली बत्ती जड़ान अर्थात वायरिंग गरी पंखा समेत प्रदान गरिएको उहाँले बताउनुभयो ।
"आधुनिक प्रविधिको ज़माना छ, विद्यालयमा विद्युत छैन, ईन्टरनेट छैन , पंखा छैन , टिभी छैन, आंफुले सकेको सहयोग गर्ने मनसाय आयो" वस्तीले भन्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै क्रस बोर्डर नेपालका अध्यक्ष भरत प्रसाद वस्तीले बालबालिकालाई सानो कुराले पनि आकर्षित गर्ने भन्दै बालबालिकाको खुसीमा आफ्नो खुसी लुकेको बताउनुभयो । "सानो बालबालिकाको कलिलो मस्तिष्कलाई हामीले सत्मार्गमा डोऱ्याउनुपर्छ, हाम्रो खुसी त्यहीँ मिल्छ" वस्तीले भन्नुभयो ।
वस्तीले विद्याज्योति आधारभूत विद्यालयलाई कक्षाकोठामा कार्पेटिंग समेत गरिदिने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । क्रस बोर्डर नेपालले १ लाख ३० हजार रुपैयाँ बढ़ी रकम सहयोग गरेको पनि वस्तीले बताउनुभयो ।
"आफ्नो विद्यालयमा क्रस बोर्डर नेपालले गरेको सहयोग देख्दा ठूलो विकास भएको अनुभूति गरेको छु" विद्याज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक सितादेवी पोखरेलले भन्नुभयो ।
विद्युत वायरिंगसँगै पंखा, टेलिभिजन , साउण्ड बक्स लगायतका सामाग्री प्राप्त गर्दा खुसी भएको पनि प्रधानाध्यापक पोखरेलले प्रतिक्रिया दिनुभयो ।
सोमबार क्रस बोर्डर नेपालका अध्यक्ष भरत प्रसाद वस्ती र क्रस बोर्डरका स्वयंसेवक नेदरल्याण्डकी इल्स कोस्टरले उक्त सामाग्री प्रदान गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस