
समाचार कुञ्ज फाल्गुण ५ , दुलेगौँडा
शुक्लागण्डकी –५ बेलचौतारामा तेस्रो शुक्लागण्डकी महोत्सव अन्तर्गत गण्डकी प्रदेश अन्तर पालिकास्तरीय भलिवल जारी छ । शनिवार भएको पहिलो खेलमा शुक्लागण्डकी विजयी हुदै अघिल्लो चरणमा प्रवेश गरेको छ । शुक्लागण्डकीले सोझो सेटमा रिसिङ्गलाई पराजित गरेको हो । यसैगरी नवलपुरको बौदिकाली र तनहुँको घिरिङ्गबीच भएको दोस्रो खेलमा सोझो सेटमा बौदिकाली विजयी भयो ।
प्रतियोगितामा प्रथम हुने समुहले नगद २ लाख रुपैया, द्धितीयले १ लाख रुपैया, तृतीयले ५० हजार र सान्त्वना हुनेले २५ हजार रुपैया साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाईकर, सटर, डिफेन्डर, ब्लकर, कोच र सर्भरलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा १३ समुहको सहभागिता छ ।
यसैगरी महोत्सव स्थलमा तनहुँ जिल्लास्तरीय खुल्ला पुरुष ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा ३३ समुहको सहभागिता छ । शुक्लागण्डकी व्याडमिन्टन संघको व्यवस्थापनमा भएको सो प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः २० हजार, १० हजार र ६ हजार रुपैया साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । आर्थिक समाजिक खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्धन, शुक्लागण्डकी महोत्सव कला सिप र संस्कृतिको संरक्षण भन्ने मुल नाराका साथ आयोजित महोत्स्वमा ,कौरा, नृत्य प्रतियोगिता, गण्डकी गायन प्रतियोगिता, रत्यौली प्रतियोगिता समावेश गरिएको छ । सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव भएको हो ।

प्रतिक्रिया दिनुहोस