
समाचार कुञ्ज काठमाडौं । गायिका एलिना चौहानले चोटग्रस्त अनुहारसहितको तस्वीर सामाजिक संजालमा सार्वजनिक गरेकी छन् । पूर्वपति विष्णु सापकोटाले सामाजिक संजालमार्फत विज्ञप्ति जारी गरेको केही घण्टाभित्रै एलिनाले अनुहारमा चोटपटक लागेको तस्वीर सार्वजनिक गर्दै कानुनी, सामाजिक र नैतिक बाटो अपनाउने चेतावनी दिएकी छन् ।
मिति हेर्दा उक्त फोटो ९ जुन, २०२४ को भएको देखिन्छ । ‘म हरेक कानुनी, सामाजिक र नैतिक बाटो अपनाएर न्यायको लागि अघि बढ्नेछु । किनकी म एक्लो भएपनि, सत्य मेरो साथमा छ’ उनले लेखेकी छन् ।उनका पूर्वपति सापकोटाले सम्बन्धविच्छेदलाई लिएर आफूलाई आलोचना गरेको भन्दै उनले अस्ट्रेलिया र नेपालमा कानूनी परामर्शमा अघि बढेको बताएका थिए । पूर्वपति सापकोटाको कानुनी प्रक्रियामा अघि बढ्न लागेको जवाफमा एलिनाले चोटग्रस्त अनुहार सार्वजनिक गरेको अनुमान गरिएको छ ।
यसअघिको केही अन्तर्वार्तामा एलिनाले आफूलाई पूर्वपतिले कुटपिट गरेको बताएकी थिइन् । यद्यपि, कुटपिटको तस्वीर भने अहिले आएर सार्वजनिक गरेकी हुन् । ६ महिनाअघि एलिना र विष्णुबीच काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद भएको थियो ।
कानूनीरुपमा अलग भैसकेपनि यी दुईबीचको डिभोर्सको विवाद र चर्चा अझै सेलाइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस